रत्न राज्य लक्ष्मी क्याम्पसबाट रचना रिमालले गरिन् बीए पास

काठमाडौं । चर्चित तथा लोकप्रिय गायिका रचना रिमालले स्नातक तह (बी.ए.) उत्तीर्ण गरेकी छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसबाट उनले मानविकी संकायअन्तर्गत स्नातक तहको चार वर्षे अध्ययन सफलतापूर्वक पूरा गरेकी हुन् ।

केही दिनअघि त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्नातक तह चौथो वर्षको परीक्षाफलमा प्राविधिक त्रुटिका कारण रचनालगायत केही विद्यार्थीको नतिजामा ‘अनुपस्थित’ (एब्सेन्ट) देखिएको थियो । क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयबाट उक्त प्राविधिक त्रुटि सच्याइएपछि आएको अन्तिम नतिजामा आफू सबै विषयहरूमा उत्तीर्ण भएको जानकारी गायिका रिमालले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

रचनाले ‘संगीत’ र ‘राजनीतिशास्त्र’ मुख्य विषय लिएर स्नातक अध्ययन पूरा गरेकी हुन् । सांगीतिक व्यस्तताका बीच पनि पढाइलाई निरन्तरता दिएर लक्ष्य हासिल गर्न सकेकोमा उनले निकै खुसी व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा आफ्नो खुसी साट्दै उनले लेखेकी छन्, ‘मेरो आफ्नै कर्मसँगै संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदा पनि पढाइलाई बीचमै नछोड्ने, जति व्यस्त भए पनि अध्ययन पूरा गर्ने अठोट गरेकी थिएँ, त्यो अठोट अन्ततः पूरा भएको छ । यो मेरो लागि केवल शैक्षिक उपलब्धि मात्र होइन, सपना र जिम्मेवारीलाई सँगसँगै अघि बढाउन सकिन्छ भन्ने विश्वासको सुन्दर परिणाम पनि हो ।’

आफ्नो पढाइको यात्रा यहीँ नटुङ्गिने स्पष्ट पार्दै उनले संगीत साधनाका साथसाथै आगामी दिनमा उच्च शिक्षालाई पनि निरन्तरता दिने सोच बनाएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation