काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले सार्वजनिक गरेको मूल्यसूचीअनुसार लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।
कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको इलिमिनेटर तथा फाइनल खेलका लागि भने टिकट मूल्य बढाइएको छ। ती खेलमा साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ।
प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर ईसेवामार्फत टिकट खरिद गर्न सकिनेछ। क्यानका अनुसार टिकट बिक्री आज साँझ ६ बजेदेखि सुरु भएको हो।
एनपीएलको तेस्रो संस्करणमा सहभागी टोलीहरूबीचको प्रतिस्पर्धा हेर्न क्रिकेटप्रेमीहरू उत्साहित छन्। प्रतियोगिताले नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै घरेलु क्रिकेटलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










