काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ।
आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने तयारी गरेको छ। तर प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत भएपनि राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा अध्यादेश स्वीकार हुने नहुनेमा अन्योल देखिएको छ।
अध्यादेश स्वीकृत गर्ने नगर्ने निर्णायक भूमिकामा जसपा नेपाल रहँदा उसले सत्ताको बार्गेनिङ सुरू गरेको छ र अप्ठ्यारो अवस्थामा पर्दा सतारुढ गठबन्धन भित्र विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेस लचिलो पनि बन्दै गएका छन्।
जसपा नेपालले सरकारले संसद्मा पेश गरेको अध्यादेशलाई गुण र दोषका आधारमा छलफल गरेर निर्णय लिने बताएको छ। तर यहि अध्यादेशका आधारमा उसको ध्यान संघ देखी प्रदेशसम्मको सत्ता तर्फ पनि तानिएको छ । अध्यादेश मार्फत संशोधन गरिएका कानुन राम्रा भएपनि भूमि सम्बन्धि अध्यादेशमा आफ्नो आपत्ति रहेको जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले बताएका छन्। अध्यादेशको विषयमा लगातार छलफल चलाइरहेको उसले विज्ञ समुहसँगको छलफल पछि भूमिहिनलाई जग्गा बाँड्ने विषयमा सरकारको नियत सहि नभएको तर्क गरेको छ।
सरकारले ल्याएको अध्यादेश स्वीकृत अस्वीकृत के हुने भन्नेमा राष्ट्रिय सभामा ३ सीट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक बनेपछि सत्ता राजनीतिको खेल सुरू भएको हो। आजको संसदको कार्यतालिका अनुसार सरकारले २ पटक गरेर ल्याएको ६ वटै अध्यादेश दुवै सदनमा निर्णायार्थ पेश हुँदैछ।
अध्यादेश दुवै सदनबाट स्वीकार भयो भने प्रतिस्थापन विधेयक ल्याउन बाटो खुल्ने छ र स्वीकृत नभए अध्यादेश निस्कृय हुनेछ। संविधानले अध्यादेश दुवै सदनबाट बहुमतले स्वीकृत हुनुपर्ने परिकल्पना गरेको छ।
५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेशको विपक्षमा उभिएका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको १७ जना सांसद छन। त्यसैगरि एकीकृत समाजवादीका ८ जना र जनमोर्चाका १ गरी २६ जना विपक्षमा हुन्छन्। सत्तापक्षका भने २८ जना सदस्य मात्रै छन् र बहुमतका लागि ३० जना चाहिन्छ। यस्तोमा जसपा नेपालले विपक्षीलाई साथ दियो भने अध्यादेश स्वतः अस्वीकार हुन्छ भने सत्तापक्षलाई साथ दिएमा स्वीकार हुन्छ।
आफू निर्णायक भूमिकामा रहेको यहि अवस्थालाई जसपा नेपालले राजनीतिक बार्गेनिङको कार्ड बनाएको छ। जसपाले खासगरि मधेश प्रदेशमा जसरी पनि जनमतलाई हटाएर मुख्यमन्त्री आफु लिन चाहन्छ। अर्कोतर्फ आफुसँग छुट्टिएर गएको अशोक राई नेतृत्वको संघ सरकारमा सहभागिताका विषय पुनर्विचार गर्नुपर्ने उसको भनाइ छ। यसैगरी छलफलका क्रममा जसपाले संघमा पनि २ वटा मन्त्रालय माग गरिरहेको छ।
अध्यादेशका साथै अन्य विषयमा पनि सरकारलाई जसपाको साथ चाहिने भएकाले सत्तापक्ष दुवै सदनमा बहुमत पुर्याउन उसको मागमा लचिलो हुने देखिन्छ। यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले गएराति पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बुढानिलकण्ठ बोलाएर छलफल गरेका थिए।
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्ने कार्यतालिका छ।