काठमाडौँ — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्ष कुमारमणि थपालिया नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को पर्यटन तथा हवाई यातायात समितिको उपसभापतिमा नियुक्त भएका छन् ।
थपालियालाई एफएनसीसीआईको कार्यलयमा औपचारिक नियुक्ति पत्र हस्तान्तरण गरिएको हो। महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्व र संघर्ष विष्टको सभापतित्वमा गठित यस समितिले देशको पर्यटन क्षेत्रको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
यस नवगठित समितिले नेपालको पर्यटन उद्योगको दिगो विकास, पर्यटन पूर्वाधारको सुदृढीकरण, सेवाको स्तरवृद्धि, नीतिगत सुधार तथा सार्वजनिक-निजी क्षेत्रबिचको सहकार्यलाई अझ मजबुत बनाउन प्राथमिकताका साथ काम गर्नेछ।
नवनियुक्त उपाध्यक्ष थपालिया नेपालको ट्राभल तथा पर्यटन क्षेत्रका एक अनुभवी व्यवसायी हुन्। सन् २०२४ देखि २०२६ सम्म नाट्टाको सफल नेतृत्व सम्हालिसकेका प्रिसियस ट्राभल्स एन्ड टुर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। उनले सन् २०२५ मा नेपाल पर्यटन बोर्ड (एनटीबी) को सञ्चालक समिति सदस्यका रूपमा पनि सेवा प्रदान गरिसकेका छन्।









