काठमाडौँ । राजनीतिमा निष्ठा, अनुशासन र सांगठनिक निरन्तरता कायम राख्न सके उमेरले परिपक्वता र नेतृत्व क्षमतालाई छेक्दैन भन्ने उदाहरण बनेका छन्— डोल्पाका २४ वर्षीय युवा नेता मिलन बुढाथोकी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बुढाथोकी डोल्पाबाट ‘युवा कोटा’ अन्तर्गत सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरी हिमाली भूगोल डोल्पाको सामाजिक-राजनीतिक रुपान्तरणमा खटिएका बुढाथोकी अहिले डोल्पा र समग्र नेपाली कांग्रेसका युवा वृत्तमा आशालाग्दा नेतृत्वका रूपमा हेरिएका छन्।
१९ वर्षको उमेरमा खुला प्रतिस्पर्धा, २४ मा सर्वसम्मत
मिलन बुढाथोकीको राजनीतिक यात्रा कुनै रातारात हासिल भएको सफलता भने होइन। पार्टीको १४औँ महाधिवेशनमा उनी मात्र १९ वर्षका थिए। त्यसबेला कुनै पनि गुट वा प्यानलको सहारा नलिई, निष्पक्ष रूपमा खुला कोटाबाट महाधिवेशन प्रतिनिधि पदका लागि चुनावी मैदानमा होमिएका थिए। पहिलो प्रयासमा प्राविधिक रूपमा ३५ मत नपुग्दा उनी पराजित हुन पुगे।
तर, त्यो पराजयलाई उनले विश्राम नभई अनुभव र पाठका रूपमा लिए। गुटमुक्त राजनीति र संगठन निर्माणमा निरन्तर खटिएका उनै बुढाथोकी २४ वर्षको उमेरमा आइपुग्दा १५औँ महाधिवेशनबाट डोल्पाका सबै नेता-कार्यकर्ताको साझा रोजाइ बन्दै सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिन सफल भए।
उत्कृष्ट शैक्षिक पृष्ठभूमि र विद्यार्थी राजनीति
राजनीति र अध्ययनलाई सँगसँगै अगाडि बढाएका बुढाथोकीले राजनीतिशास्त्र (Political Science) मा स्नातक (Bachelor’s Degree) उत्तीर्ण गरेका छन्। उनको नेतृत्व क्षमताको जग सेन्ट लरेन्स कलेज (St. Lawrence College) को ‘प्लस टु विद्यार्थी क्लब’को अध्यक्ष छँदा नै बसिसकेको थियो। कलेज जीवनमै आफ्नो उत्कृष्ट प्रदर्शनका कारण उनी ‘College Student of the Year’ उपाधिबाट सम्मानित भएका थिए।
त्यसपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत चर्चित आरआर क्याम्पस (R.R. Campus) मा साधारण सदस्यका रूपमा प्रवेश गरेका उनले इकाइ सह-सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हाले। सांगठनिक कुशलताकै कारण उनलाई नेविसंघ डोल्पा–काठमाडौँ सम्पर्क समितिको कार्यवाहक सभापति र पछि नेविसंघ डोल्पाको जिल्ला सभापतिको महत्त्वपूर्ण जिम्मेवारी सुम्पियो।
गाउँ-समाजमा जोडिएका अनुशासित युवा नेता
काठमाडौँको विद्यार्थी राजनीतिमा सक्रिय रहँदा होस् या जिल्ला सभापतिको रूपमा, बुढाथोकीले आफ्नो भूगोल र गाउँ-समाजसँगको सम्बन्ध कहिल्यै टुट्न दिएनन्। स्थानीय तहका सामाजिक कार्य, युवा सशक्तिकरण र गाउँका विकास निर्माणका मुद्दामा उनी निरन्तर सक्रिय रहँदै आएका छन्।
सानै उमेरमा कठिन परिस्थितिमा पनि ठोस निर्णय लिन सक्ने क्षमता, संगठनात्मक परिपक्वता र अनुशासित जीवनशैली नै बुढाथोकीका मुख्य सबल पक्ष हुन्।
१९ वर्षको उमेरमा चुनावी प्रतिस्पर्धाबाट सुरु भएको बुढाथोकीको यो अदम्य राजनीतिक यात्रा २४ वर्षको उमेरमा आइपुग्दा सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म विस्तार भएको छ। बुढाथोकीको यो राजनीतिक फड्कोले नेपाली राजनीतिमा निष्ठावान र अध्ययनशील युवाहरूको अर्थपूर्ण सहभागिता आवश्यक छ भन्ने बलियो सन्देश प्रवाह गरेको छ।