रामेछापबाट कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधिमा ३६१ मतसहित देवराज योन्जन निर्वाचित

रामेछापबाट कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधिमा ३६१ मतसहित देवराज योन्जन निर्वाचित
रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप प्रदेश निर्वाचन क्षेत्र (ख) मा युवा वर्गको उत्साहजनक उपस्थितिबीच ३५ वर्षमुनि युवा (पुरुष) तर्फबाट देवराज योन्जन प्रदेश महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन्।
देवराजले आफ्ना निकटतम प्रतिस्पर्धी विकास तिमल्सिनालाई ९३ मतको फराकिलो अन्तरले पछाडि पार्दै जित हासिल गरेका हुन्। कुल खसेको मतमध्ये देवराजले ३६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विकास तिमल्सिनाले २६८ मतमा चित्त बुझाउनुपर्‍यो। पार्टीभित्र युवा नेतृत्वको भूमिका र ऊर्जालाई अघि बढाउनुपर्ने चर्चा चलिरहेका बेला देवराजको यो जितलाई स्थानीय तहमा निकै महत्त्वका साथ हेरिएको छ।
यसैगरी, प्रदेश (ख) को नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धामा सभापति पदमा रामकृष्ण ढकाल ४१५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी टासी लामाले २९८ र हर्क बहादुर खत्रीले ३९ मत प्राप्त गरे। सचिव पदमा सुवाश जगं थापा मगर ४३३ मतका साथ विजयी हुँदा विपिन राज श्रेष्ठले २०५ मत पाए। सह-सचिव (खुला) तर्फ अमृत थोकरले ४४१ मत ल्याएर जित दर्ता गर्दा अनिलराज सत्यालले २२५ मत प्राप्त गरे।
अन्य समावेशी तथा लक्षित कोटातर्फ अपाङ्गतातर्फ रमेश थोकर २५२ मत, श्रमिकतर्फ निर्मल घिसिङ्ग ३१५ मत, अनि प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व पीडिततर्फ कर्मसिं तामाङ २९५ मत प्राप्त गरी विजयी बनेका छन्। त्यसैगरी समानुपातिक आदिवासी जनजाति खुला (२) तर्फ नविन कुमार थापामगर (३४६ मत) र लिला तामाङ (२२८ मत) निर्वाचित भएका छन्।
प्रदेश प्रतिनिधि खुला (८) तर्फको प्रतिस्पर्धामा भने टीकाराम आरण (४०४ मत), कमल योन्जन (३९० मत), वासुदेव फुयाल (३३१ मत), बुद्धिबहादुर पुलामी मगर (३२६ मत), नविन्द्र गोले (३०० मत), भेष बहादुर थापा (२८१ मत) र सुजन घ्यासङ तामाङ (२५८ मत) ले जित हासिल गर्दै प्रदेश प्रतिनिधिमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation