चीनको सिचुवानका पार्टी सचिवसँगरास्वपाको भेट, पाँच क्षेत्रमा सहकार्य प्रस्ताव

चेङ्दु : चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भेटवार्ता भएको छ।

भेटमा नेपाल–चीनबीचको ऐतिहासिक मित्रतालाई विकास र साझा समृद्धिका लागि ठोस तथा व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

बैठकमा विपद् जोखिम न्यूनीकरण, पूर्वाधार, स्वच्छ ऊर्जा, आधुनिक कृषि, संस्कृति र पर्यटनलगायत विषयमा छलफल भएको थियो। नेपाली पक्षले सुरक्षित सीमापार यातायात, पर्वतीय विज्ञान, हरित उद्योग, हवाई सम्पर्क तथा व्यापार र युवा एवं डिजिटल नवप्रवर्तनलाई सहकार्यका पाँच प्राथमिकताका रूपमा अघि सारेको छ।

वाङले सचुवान प्रान्तीय पार्टी समिति र सरकारका तर्फबाट नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराए। उनले नेपाल र चीनलाई हजारौँ वर्षदेखि मैत्रीपूर्ण सम्बन्ध कायम राखेका असल छिमेकी, मित्र र साझेदारका रूपमा स्मरण गरे।

गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको गेग्रानसहितको बाढीले दुवै देशमा जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाएको बताए। चीनले आफ्नै क्षेत्रमा उद्धार तथा राहत कार्य सञ्चालन गरिरहँदा नेपालका प्रभावित क्षेत्रमा पनि तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएको उनले स्मरण गरे।

नेपाली प्रतिनिधिमण्डलले भदौ २६ को भोटेकोशी विपद्मा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेको थियो। विपद्का बेला नेपाललाई चीनले उपलब्ध गराएको सहयोग र देखाएको ऐक्यबद्धता नेपालले सधैँ स्मरण गर्ने प्रतिनिधिमण्डलको भनाइ थियो।

राष्ट्रिय राजनीतिमा प्रवेश गरेको चार वर्षयता रास्वपाले नेपालमा नयाँ राजनीतिक संस्कार स्थापित गर्ने प्रयास गर्दै आएको प्रतिनिधिमण्डलले जनाएको थियो। राजनीतिलाई थप जिम्मेवार, पारदर्शी र जनताका आवश्यकतामा केन्द्रित बनाउनु पार्टीको उद्देश्य रहेको उसले बताएको थियो।

राजनीतिक प्रणाली र अनुभव फरक भए पनि नागरिकको विश्वासलाई सम्मान, कल्याण र समृद्धिमा रूपान्तरण गर्नु साझा जिम्मेवारी भएको उल्लेख गर्दै रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टीको दीर्घकालीन संगठनात्मक तथा शासन अनुभवलाई खुला र जिज्ञासु दृष्टिले बुझ्न चाहेको जनाएको थियो।

भ्रमणअघि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेको प्रतिनिधिमण्डलले जानकारी दिएको थियो। दुवै नेताले चीनसँगको मैत्रीपूर्ण सम्बन्धप्रति नेपालको प्रतिबद्धता सुनाउन आग्रह गरेको उसले बताएको थियो।

प्रतिनिधिमण्डलका अनुसार नेपाल–चीन सम्बन्ध पञ्चशीलका पाँच सिद्धान्त, नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति र एकअर्काको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताप्रतिको पारस्परिक सम्मानमा आधारित छ।

प्रतिनिधिमण्डलले एक चीन सिद्धान्तप्रति नेपालको दशकौँदेखिको स्थिर अडान पुनः स्पष्ट पारेको थियो। रास्वपाले उक्त अडानलाई निरन्तरता दिने र चीनको सार्वभौमसत्ता तथा सुरक्षाविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने धारणा राखेको थियो।

बलियो राजनीतिक विश्वासले मित्रतालाई दिगो बनाउने भन्दै प्रतिनिधिमण्डलले चीनले रास्वपालाई पारदर्शी, पूर्वानुमानयोग्य र सिद्धान्तनिष्ठ साझेदारका रूपमा पाउने बताएको थियो।

विगतमा अस्थिर गठबन्धनका कारण राम्रा उद्देश्यसहित अघि सारिएका योजनासमेत कार्यान्वयनमा ढिलाइ भएको नेपाली पक्षको भनाइ थियो। अहिले स्पष्ट राजनीतिक इच्छाशक्ति र कार्यान्वयन क्षमता भएको स्थिर सत्तारूढ शक्तिको प्रतिनिधित्व आफूहरूले गरिरहेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले योजनालाई व्यवहारमा उतार्न तयार रहेको बताएको थियो।

वाङले नेपाल र चीनबीच उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्य क्रमशः अघि बढिरहेको बताए। नेपालसँग निकट सम्पर्क भएका चिनियाँ प्रान्तमध्ये सचुवान पनि एक भएको उल्लेख गर्दै उनले दुवै देशका नेतृत्वबीच भएका महत्त्वपूर्ण समझदारी कार्यान्वयनमा योगदान गर्ने प्रतिबद्धता जनाए।

भ्रमणलाई अवसरका रूपमा लिएर स्थानीय तहका पार्टीगत र सरकारी सम्बन्ध थप घनिष्ठ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उनको भनाइ थियो। यसबाट विकास र समृद्धितर्फ उन्मुख पुस्तौँसम्म कायम रहने नेपाल–चीन मैत्रीपूर्ण रणनीतिक सहकार्यात्मक साझेदारीलाई अघि बढाउन मद्दत पुग्ने उनले बताए।

महामन्त्री आचार्यले सचुवानको आर्थिक तथा सामाजिक उपलब्धिको प्रशंसा गर्दै नेपालको विकासमा चीनले लामो समयदेखि पुर्‍याएको सहयोगप्रति धन्यवाद दिए। उनले चीनको पश्चिमी क्षेत्रको महत्त्वपूर्ण प्रान्त सचुवानलाई नेपालका लागि पनि महत्त्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै पारस्परिक लाभका क्षेत्रमा सम्बन्ध विस्तार गर्न चाहेको बताए।

सहकार्यका पाँच प्राथमिकता

नेपाली प्रतिनिधिमण्डलले बैठकमा पाँच क्षेत्रमा सहकार्य विस्तारको प्रस्ताव अघि सारेको थियो।

१. सुरक्षित सीमापार यातायात: पछिल्ला विपद्ले बाह्रै महिना सञ्चालन गर्न सकिने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा स्तरोन्नति र आधुनिक भन्सार प्रणालीको आवश्यकता देखाएको भन्दै नेपाली पक्षले हिमालपारिको व्यापार तथा आवागमनलाई सुरक्षित र भरपर्दो बनाउन सहकार्य प्रस्ताव गरेको थियो।

२. पर्वतीय विज्ञान र विपद् सहनशीलता: नेपाल र सचुवानको पर्वतीय वातावरण तथा विपद् जोखिममा समानता रहेकाले विश्वविद्यालय, अनुसन्धान संस्था र विज्ञबीच सहकार्य गर्न सकिने नेपाली पक्षको भनाइ थियो। मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक र विपद् पूर्वतयारीमा ज्ञान तथा सूचना आदानप्रदानले जनधनको क्षति घटाउन सक्ने प्रतिनिधिमण्डलले उल्लेख गरेको थियो।

३. स्वच्छ ऊर्जा र हरित उद्योग: नेपालको जलविद्युत् सम्भावनालाई सचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोडेर लगानी र प्रविधि हस्तान्तरण विस्तार गर्ने प्रस्ताव नेपाली पक्षले राखेको थियो। जलविद्युत्सँगै हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा साझेदारीको सम्भावना पनि बैठकमा उठाइएको थियो।

४. हवाई सम्पर्क, पर्यटन र व्यापार: चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवातर्फ थप प्रत्यक्ष उडानको सम्भावना खोज्न नेपाली पक्षले आग्रह गरेको थियो। यसले पर्यटन, व्यावसायिक आवागमन र जनस्तरको सम्बन्ध विस्तारमा मद्दत पुग्ने उसको भनाइ थियो। चीनतर्फ नेपाली जडीबुटी, चिया, फलफूल र हस्तकलाको निर्यात बढाउन प्रशोधन, भण्डारण, गुणस्तर मापदण्ड र बजार पहुँचका लागि प्राविधिक तथा व्यावसायिक सहयोगको प्रस्ताव पनि राखिएको थियो।

५. युवा र डिजिटल नवप्रवर्तन: नेपालको प्रविधिमा रुचि राख्ने युवा र स्वच्छ विद्युत्लाई सचुवानको अनुसन्धान क्षमतासँग जोडेर कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टरमा सहकार्य गर्न सकिने धारणा नेपाली पक्षले राखेको थियो। संयुक्त अनुसन्धान र आदानप्रदानबाट युवाका लागि नयाँ अवसर सिर्जना गर्न सकिने प्रतिनिधिमण्डलको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation