काठमाडौं । नेपाली चलचित्रका लोकप्रिय अभिनेता पल शाह फेरि आफ्नो गेटअपका कारण चर्चामा आएका छन्। यसअघि चलचित्र ‘रावण’मा दारीको लुक्सलाई लिएर आलोचना खेपेका पल अहिले लामो र अस्तव्यस्त कपालका कारण सामाजिक सञ्जालमा चर्चामा आएका हुन्।
पछिल्चला केही चलचित्रमा पल शाहलाई लामो, झिङ्ग्रिङ्ग परेको र नमिलेको कपालमा प्रस्तुत गरिएको छ। तर, कपालको शैली र अनुहारको प्रस्तुतिबीच तालमेल नमिलेको भन्दै उनको गेटअपमाथि प्रश्न उठ्न थालेका छन्।
पात्रलाई अस्तव्यस्त देखाउने प्रयास गरिएको भए पनि अनुहार भने चिटिक्क देखिनुले उक्त गेटअप स्वाभाविक नदेखिएको कतिपय दर्शकको टिप्पणी छ। यससँगै चलचित्रमा पात्र निर्माणका लागि मेकअप, हेयरस्टाइल र समग्र हुलियामा कति ध्यान दिइएको छ भन्ने विषयले पनि चर्चा पाएको छ।
कलाकारलाई फरक लुक्समा प्रस्तुत गर्नु मात्रै पर्याप्त हुँदैन। पात्रको स्वभाव, जीवनशैली र कथाको परिवेशअनुसार बाहिरी रूपलाई विश्वसनीय बनाउनु पनि चलचित्र निर्माणको महत्त्वपूर्ण पक्ष हो। यही विषयलाई लिएर पल शाहको नयाँ गेटअप र मेकरको तयारीबारे दर्शकले चासो व्यक्त गरेका छन्।
यसअघि ‘रावण’मा उनको दारीको लुक्सलाई लिएर चर्चा भएको थियो। अहिले फेरि कपालकै कारण गेटअप चर्चामा आउनुले कलाकारको लुक्स छनोट र पात्र निर्माणको तयारीबारे बहसलाई निरन्तरता दिएको छ।
यद्यपि, चलचित्रको कथावस्तु र पात्रको वास्तविक परिवेश नबुझी गेटअपकै आधारमा समग्र अभिनय वा चलचित्रको मूल्याङ्कन गर्नु उचित हुँदैन। पात्रलाई त्यसरी प्रस्तुत गर्नुको पछाडि कथागत कारण पनि हुन सक्छ।
लोकप्रिय कलाकार पल शाहको गेटअपले सामाजिक सञ्जालमा चर्चा पाउनु नौलो विषय होइन। तर, यसपटक उठेको प्रश्न उनको लुक्समा मात्र सीमित नभई पर्दामा पात्रलाई कति स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ भन्नेमा केन्द्रित देखिन्छ।








