काठमाडौं । खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघलाई गरिएको निलम्बनबारे फिफासित कुराकानी भइरहेको बताएका छन् ।
आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेललाई सञ्चारकर्मीले एन्फा निलम्बनका विषयमा जिज्ञासा राखेका थिए । पोखरेलले अहिलेको सरकारले मात्र नभएर विगतमा पनि पटक-पटक राजनीतिक हस्तक्षेप भएकाले निलम्बनको अवस्था आएको बताए । अब राजनीतिक हस्तक्षेप बिनाको नयाँ एन्फा बन्ने उनले दाबी गरे ।
नेपाली फुटबल यहाँभन्दा तल झर्ने ठाउँ नै नरहेको भन्दै मन्त्री पोखरेलले एन्फाभित्रका भ्रष्टाचारबारे थुप्रै उजुरीहरू आएको र छानबिन चलिहरेको जानकारी दिए ।
फिफासँग भइरहेको संवादबारे उनले भने, ‘फिफासँग हाम्रो अन्तरक्रिया सुरू भइसकेको छ । हामीले फिफाका पदाधिकारीहरूलाई, एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि बोलाइसकेका छौँ । उहाँहरू आउनुभयो भने त्यसमा स्वाभाविक रूपमा छलफल भइहाल्छ ।’









