काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्ट परिवारले बाढीका कारण ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन ।
विपद्को कठिन समयमा प्रभावित नागरिक र सरकारको साथमा आफूहरू रहेको जनाउँदै कम्पनीले राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा आफ्नो दायित्व निर्वाह गर्ने जनाएको छ।
कम्पनीका अनुसार रिद्धि सिद्धि सिमेन्टले ५१ लाख र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकर न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारको तर्फबाट उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
कम्पनीले विपद्को समयमा बाढी प्रभावित नागरिकको सेवामा खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन तथा स्वास्थ्यकर्मीलगायत सबै सहयोगीप्रति सम्मान तथा आभार व्यक्त गरेको छ।










