टाटाले ल्यायो नयाँ प्रिमियम एसयूभी ‘सिएरा ईभी’ : बुकिङ सुरू

काठमाडौं । टाटाको नयाँ प्रिमियम एसयूभी ‘सिएरा डट ईभी’ सार्वजनिक भएको छ।

नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडर्सले नाडा अटो शोमा सिएरा ईभी सार्वजनिक  गरेको हो।

टाटा मोटर्सले आफ्नो चर्चित ‘सिएरा’ मोडल आधुनिक प्रविधि, बलियो डिजाइन, लामो रेन्ज र प्रिमियम इन्टेरियर युक्त सिएरा ईभीले प्रिमियम इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकालाई लक्षित गर्दै बजारमा ल्याएको छ।

नेपालमा सिएरा ईभीले मध्यमदेखि प्रिमियम वर्गका इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्ने देखिन्छ। सिएरा ईभी  ७५ किलोवाट आवरका ब्याट्री विकल्प उपलब्ध छ जसले ६६५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। सिएरा ईभी रियल ह्वील ड्राइभ र अल ह्वील ड्राइभमा उपलब्ध छ।

गाडीको लम्बाइ ४३४० एमएम, चौडाइ १८४१ एमएम र उचाइ १७५० एमएम छ। यसको ह्विल बेस २७३० एमएम, ग्राउन्ड क्लियरेनस २०५ एमएम र बुट स्पेस ६२२ लिटर छ।

सिएरा ईभीको केबिनलाई प्रविधिमैत्री र प्रिमियम बनाउन टाटाले धेरै नयाँ फिचर प्रयोग गरेको छ। यसमा होरिजन भ्यू ट्रिपल स्क्रीन सेटअप, मल्टिकलर गाइडसहितको हाइपर हेडअप डिस्प्ले, ४–वे पावर को–ड्राइभर सिट, भेन्टिलेटेड सिट तथा आयोनाइजरसहितको क्याबिन स्टेरिलाइजेसन सिस्टम उपलब्ध छन्।

सुरक्षातर्फ सिएरा ईभीमा लेभल २ प्लस अड्यास अन्तर्गत २३ वटा फिचर समावेश गरिएको कम्पनीले जनाएको छ। यसले अगाडिको सडक तथा सम्भावित जोखिम पहिचान गरेर चालकलाई विभिन्न अवस्थामा सहयोग गर्नेछ। अटो पार्क असिस्टमा पनि १५ वटा फिचर रहेको टाटाको आधिकारिक विवरणमा उल्लेख छ। यसका साथै ५४० डिग्री क्यामेरा छ।

यी  फिचरले सिएरा ईभीलाई केवल रेन्जमा मात्र नभई सुरक्षा र ड्राइभिङ प्रविधिमा पनि प्रतिस्पर्धी बनाएको छ।

त्यसैगरी १९ इन्च एलोय ह्विल, ३६० डिग्री सराउन्ड भ्यु सिस्टम, पारदर्शी मोडसहितको ५४० डिग्री भ्यु, अटो पार्क असिस्ट तथा अगाडि–पछाडिको टर्न क्यामेरा जस्ता फिचरले पार्किङ र ड्राइभिङलाई सहज बनाउने लक्ष्य राखेका छन्।

सिएरा ईभी टाटाको नयाँ पुस्ताको विद्युतीय एसयूभी हो। यसको डिजाइनमा पुरानो सिएराको पहिचान झल्किने बक्सी तथा मस्कुलर स्वरूपलाई आधुनिक एसयूभी डिजाइनसँग जोडिएको छ। टाटा मोटर्सले यसलाई ‘गो एनीवेयर, डु एनीथिङ’ अवधारणामा विकास गरेको छ।  यो शहरको दैनिक प्रयोगदेखि लामो दूरी तथा कठिन सडकसम्म प्रयोग गर्न सकिने एसयूभीका रूपमा प्रस्तुत गरिएको छ।

सिएरा ईभी टाटाको परम्परागत एसयूभी पहिचान, लामो रेन्ज, अफरोड क्षमता र आधुनिक डिजिटल प्रविधिको संयोजन भएको नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी हो। नाडा अटो शोदेखि बुकिङ लिन सुरू गरिए पनि आधिकारिक मूल्य घोषणा गरिएको छैन। नाडामा बुक गर्ने गाहकलाई डेलिभरी भने दशैंदेखि  दिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation