गोरखा ताकुकोट सेवा समाजले भदौ १३ गते काठमाडौंमा गाईजात्रा प्रदर्शन गर्ने

काठमाडौं । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले यस वर्ष पनि काठमाडौंमा परम्परागत तथा मौलिक संस्कृति झल्काउने गाईजात्रा प्रदर्शन गर्ने भएको छ। पुर्ख्यौली घर गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट भई लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका गोरखा ताकुकोटका बासिन्दाले आफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले गाईजात्रा निकाल्न लागेका हुन्।

काठमाडौंमा बसोबास गर्ने गोरखा ताकुकोटका नेवार समुदाय र गोरखा ताकुकोट सेवा समाज काठमाडौंको संयुक्त आयोजनामा विगत सात वर्षदेखि हरेक वर्ष नियमित रूपमा गाईजात्रा प्रदर्शन हुँदै आएको छ। ताकुकोटबाट काठमाडौं आई विभिन्न पेसा तथा व्यवसायमा आबद्ध सबै जातजातिका व्यक्तिहरूको संयुक्त सहभागितामा गाईजात्रा मनाउँदै आएको आयोजकले जनाएको छ।

अक्सफोर्ड ड्राइभिङ सेन्टरबाट सुरु हुने

यस वर्षको गाईजात्रा भदौ १३ गते बिहान ११ बजे बनस्थली चोकस्थित अक्सफोर्ड ड्राइभिङ सेन्टरको ग्राउण्डबाट सुरु हुनेछ।

जात्राको रुट बनस्थली शिव मन्दिर → खरिबोट → बल्छिधुर्बे फुटसल → राधाकृष्ण मन्दिर → ढुङ्गेधारा → बनस्थली अक्सफोर्ड ड्राइभिङ सेन्टर रहने आयोजकले जनाएको छ।

सांस्कृतिक नाचमा सहभागी हुन आह्वान

विभिन्न सांस्कृतिक नाचमा सहभागी हुन चाहने कलाकार तथा इच्छुक व्यक्तिलाई आयोजकले समयमै सम्पर्क गर्न आग्रह गरेको छ।

घोडा नाचका लागि होमनारायण श्रेष्ठ (९८४९०८४४५८), चिरेदारका लागि शेरबहादुर गुरुङ (९८४१५३६६७४३), भोटे नाचका लागि हिमाल श्रेष्ठ (९८६०५९९०४५), टाकटुकेका लागि जीवन जोशी (९८५१२४४५६६) र गाईनानीका लागि काजीराम श्रेष्ठ (९८४१६९८५३९) अनुप श्रेष्ठ (९८५१०६१७०१), राजन बाबु श्रेष्ठ (९८५१०६९९४३) तथा धिरज उपरकोटी (९८५१००३९५८) लाई सम्पर्क गर्न सकिनेछ।

गोरखा ताकुकोट सेवा समाज काठमाडौंको कला तथा संस्कृति संवर्धन समितिको संयोजनमा हुने जात्रामार्फत ताकुकोटमा पुस्तौंदेखि मनाउँदै आएको परम्परागत संस्कृतिलाई काठमाडौंमा समेत प्रस्तुत गरी संरक्षण गर्ने प्रयास गरिएको समाजका अध्यक्ष तथा जात्रा संयोजक अनुप श्रेष्ठले बताए।

जात्रामा वर्षभरिमा मृत्यु भएका आफन्तहरूको सम्झनामा विभिन्न परम्परागत विधि अपनाइन्छ। महिला आफन्तको मृत्यु भए मानिसलाई नै सिँगारेर गाई निकाल्ने तथा पुरुषको मृत्यु भए परिवारकै सदस्यलाई सिँगारेर गाई–गोरू निकाल्ने परम्परा रहेको श्रेष्ठले बताए।

त्यसैगरी मृतक आफन्तको सम्झनामा फलफूल खुवाउने, बाजागाजा तथा झुर्मा बजाउने र घोडाको अगाडि विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्ने चलन रहेको समाजका उपाध्यक्ष राजना बाबु श्रेष्ठले बताए। यस्तो नृत्यमा सहभागी कलाकारलाई स्थानीय भाषामा ‘भोटे’ तथा ‘चिदार’ भन्ने गरिन्छ।

जात्रामा विभिन्न भेषभूषामा सजिएका कलाकारले मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्। महिलाको पोसाकमा बालबालिकालाई सजाएर ‘गाईको नानी’ वा ‘भुसुना’ बनाउने परम्परा पनि जात्राको विशेष आकर्षणका रूपमा रहनेछ।

त्यस्तै, जात्रामा ‘घोडा जुधाउने’ परम्परागत खेलसमेत प्रदर्शन गरिनेछ। दुईतर्फ बराबर संख्यामा बसेर बीचमा एक–एक जनाले घोडा समाली बाजाको तालमा जुधाउने तथा उफ्रिने गरिन्छ। त्यसैगरी दुई–दुईवटा करिब तीन फिट लामा लट्ठी लिएर महिला तथा पुरुषको समूहले मादलको तालमा खेल्ने परम्परागत ‘टाकटुके’ खेल पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ।

समाजका महासचिव धिरज उपरकोटीका अनुसार ताकुकोट सेवा समाजले विसं २०७३ सालदेखि निरन्तर रूपमा गाईजात्रा निकाल्दै आएको छ। उनका अनुसार ताकुकोटमा सयौं वर्षदेखि मनाइँदै आएको मौलिक गाईजात्रालाई काठमाडौंमा समेत प्रदर्शन गर्दै नेपालको मौलिक सांस्कृतिक पहिचानमध्ये एकका रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ।

यस वर्षको गाईजात्रा भदौ १३ गते बिहान ११ बजे काठमाडौंको वनस्थली चोकस्थित अक्सफोर्ड ड्राइभिङ सेन्टरबाट सुरु हुनेछ। जात्रा वनस्थली चोकबाट खरिबोट, बल्छी ध्रुवे फुटसल, रानीवन, राधाकृष्ण मन्दिर हुँदै ढुंगेधारा क्षेत्र पुग्नेछ। त्यसपछि पुनः वनस्थलीमा आएर जात्रा समापन गरिने आयोजकले जनाएको छ।

गोरखा ताकुकोटका बासिन्दाले काठमाडौंमा आएर पनि आफ्ना मौलिक सांस्कृतिक नृत्य तथा परम्परालाई निरन्तरता दिँदै आएका छन्। प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै गएको गोरखा बारपाक सुलिकोटको छुट्टै संस्कृति र पहिचान बोकेको गाईजात्रा सयौं वर्षदेखि मनाउँदै आएको पाइन्छ।

समाजका अनुसार गोरखा–ताकुकोटमा सयौं वर्षदेखि मनाइँदै आएको मौलिक गाईजात्रालाई काठमाडौंमा समेत निरन्तरता दिँदै नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास भइरहेको छ। राजधानीमा आयोजना हुने जात्राले ताकुकोटको मौलिक कला, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउनसमेत योगदान पुग्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation