काठमाडौं । भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको नाइमा मोबिलिटी एक्स्पोमा करिब १ लाख ८० हजारले अवलोकन गरेका छन्। एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसँगै सवारीसाधनको बुकिङ पनि उल्लेख्य भएको आयोजकले जनाएको छ।
एक्स्पोमा करिब ५५ सय चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे सवारी बुकिङ भएका छन्। बुकिङ भएका सबै सवारी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ।
बुकिङ उत्साहजनक भएपछि केही व्यवसायीले केक काटेर तथा ‘स्याम्पेन’ फोरेर खुसी मनाएका थिए। यसपटकको एक्स्पोमा विद्युतीय सवारीप्रति अवलोकनकर्ताको आकर्षणसमेत उच्च देखिएको थियो। एक्स्पोमा १८ लाख रुपैयाँदेखि करिब ४ करोड रुपैयाँसम्मका सवारी प्रदर्शनमा राखिएका थिए।
एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएको थियो। चारपांग्रेतर्फ बीवाईडी, टाटा, चेरी, वुलिङ, किया, महिन्द्रा, हुन्डाई, एमजी र लिपमोटरलगायत ब्रान्डका सवारीमा बढी बुकिङ भएको व्यवसायीहरूले बताएका छन्।
मुलुकभरबाट बीवाईडीका १ हजारभन्दा बढी गाडी बुकिङ भएका छन्। टाटा र चेरीका ७ सयभन्दा बढी युनिट बुकिङ भएका छन्। कियाले पनि ७ सयभन्दा बढी गाडी बुक भएको जनाएको छ, जसमा ६ सयभन्दा बढी किया साइरस ईभी रहेको कम्पनीको भनाइ छ।
त्यस्तै, वुलिङका ४४३, आईकारका ४२१, ओमोडा–जेकोका ३५०, आर्कफक्सका २००, एमजीका ३२९ र लिपमोटरका २०० युनिट बुकिङ भएका छन्। महिन्द्रा र प्रोटनका १००–१००, जीडब्लूएमका २०५, होन्छीका ५५, टोयोटाका ४६, म्याक्ससका ३४ र निसानका ३५ युनिट बुकिङ भएको व्यवसायीहरूले जानकारी दिएका छन्।
दुईपांग्रेमा एथरका ४००, सीएक्स मोटोका २००, याडियाका १४५, सीएफ मोटोका १०८, रोयल इन्फिल्ड र ट्रायम्फका १००–१०० तथा केटीएमका ६० युनिट बुकिङ भएका छन्।
नाइमा एक्स्पो संयोजक गौरव सारडाका अनुसार ३० देखि ३५ लाख रुपैयाँ मूल्यका सवारीमा बढी आकर्षण देखिएको थियो। इन्ट्री लेभलका सवारीप्रति बढेको आकर्षणले नयाँ ग्राहकसमेत थपिएको उनले बताए।
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले देशकै ठूलो अटो शो सफल बनाउन सयौँ व्यक्तिको योगदान रहेको बताउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
यता, लक्ष्मी ग्रुपका निर्देशक तथा नाइमा बोर्ड सदस्य निराकार श्रेष्ठले बुकिङ उत्साहजनक भए पनि एउटै ग्राहकले दुई–तीनवटा मोडल बुक गर्ने भएकाले वास्तविक बिक्री बुकिङभन्दा कम हुन सक्ने बताए। उनका अनुसार कुल बुकिङको बढीमा ५० प्रतिशत मात्र बिक्रीमा परिणत हुन सक्ने सम्भावना छ।
समग्रमा, विद्युतीय सवारीको बढ्दो आकर्षण र ३०–३५ लाख रुपैयाँ मूल्यका सवारीमा देखिएको मागले यसपटकको नाइमा मोबिलिटी एक्स्पोलाई व्यवसायीका लागि उत्साहजनक बनाएको छ।










