१०० रुपैयाँ भन्दा माथीको सक्कली बिल लिए लखपति बन्ने अवसर

काठमाडौँ। सरकारले कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै नयाँ पुरस्कार योजना सञ्चालन गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारबाट आधिकारिक बिल लिने उपभोक्ताहरू यो योजनामा सहभागी हुन सक्नेछन्।

‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ भन्ने अवधारणाअन्तर्गत ल्याइएको योजनामा १०० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टबाट सेवा लिएर भुक्तानी गर्दा प्राप्त हुने बिल नम्बरलाई पुरस्कार छनोटको आधार बनाइनेछ।

मन्त्रालयका अनुसार योजनामा सहभागी हुन उपभोक्ताले अनलाइन वा नगद माध्यमबाट भुक्तानी गरी आधिकारिक बिल लिनुपर्नेछ। बिल नम्बरका आधारमा छनोट भएका सहभागीमध्ये प्रत्येक दिन एक जना नेपाली नागरिकलाई लखपति बनाइनेछ।

यस्तै, प्रत्येक महिना दुई जना विजेतालाई बम्पर पुरस्कारस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गरिनेछ। पुरस्कार घोषणा हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा गरिने मन्त्रालयले जनाएको छ।

सरकारले चालु बजेटमार्फत घोषणा गरेको यस कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक कार्यविधि तयार गरिसकेको छ। यो योजनाले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नुका साथै कर प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation