काठमाडौं । जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोन ब्रान्डको नयाँ विद्युतीय कार ईमास ५ सार्वजनिक गरेको छ। कम्पनीले सोमबार आयोजित कार्यक्रममा यो गाडी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको हो।
दुवै भेरियन्टको बाहिरी डिजाइन, इन्टेरियर र अधिकांश फिचर समान भए पनि ब्याट्री क्षमता, मोटरको शक्ति, रेन्ज र चार्जिङ क्षमतामा फरक रहेको कम्पनीले जनाएको छ।
प्राइम भेरियन्टमा ३०.१२ किलोवाट-घण्टा क्षमताको ब्याट्री र ५८ किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यो गाडीले एकपटक पूर्ण चार्ज गर्दा डब्लूएलटीपी मापदण्डअनुसार करिब २२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसमा ६.६ किलोवाट एसी र ५३ किलोवाट डीसी फास्ट चार्जिङको सुविधा छ। साथै, ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ४.४ सेकेन्डमा लिन सक्ने क्षमता रहेको बताइएको छ।
त्यसैगरी, प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट-घण्टा ब्याट्री र ८५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यो भेरियन्टले एकपटकको चार्जमा करिब ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। ७१ किलोवाट डीसी फास्ट चार्जिङमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब २०–२१ मिनेटमै चार्ज गर्न सकिनेछ। यसको एक्सेलेरेसन पनि अझ राम्रो रहेको छ, जसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमै प्राप्त गर्छ।
आकारका हिसाबले ईमास ५ को लम्बाइ ४,१३५ मिलिमिटर, चौडाइ १,८०५ मिलिमिटर, उचाइ १,५८० मिलिमिटर तथा ह्विलबेस २,६५० मिलिमिटर रहेको छ। रियर-ह्विल-ड्राइभ प्रणालीमा आधारित यो गाडीले सन्तुलित र सहज ड्राइभिङ अनुभव दिने कम्पनीको विश्वास छ।
फिचरका हिसाबले गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, ३७५ लिटर बुट स्पेस तथा पछाडिको सिट फोल्ड गर्दा १,३२० लिटरसम्म सामान राख्न मिल्ने सुविधा रहेको छ। साथै, अगाडिको भागमा ७० लिटर क्षमताको अतिरिक्त ‘फ्रंक’ स्टोरेज पनि उपलब्ध छ।
कम्पनीले पहिलोपटक विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै प्राइम भेरियन्ट तथा लामो रेन्ज र उच्च कार्यसम्पादन खोज्ने ग्राहकका लागि प्रिमियम भेरियन्ट ल्याएको जनाएको छ।
नेपाली बजारमा ईमास ५ प्राइमको मूल्य २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। प्रतिस्पर्धी मूल्य, आधुनिक प्रविधि र आकर्षक फिचरका कारण यो गाडीले नेपाली विद्युतीय सवारी बजारमा राम्रो प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।










