काठमाडौं । जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतविरुद्ध दायर गरिएको सहकारी प्रकरणसम्बन्धी मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत राख्दै त्यससँगै थप गरिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग खारेज गर्ने आदेश दिएको हो।
अदालतको आदेशसँगै रवि लामिछानेसहितका प्रतिवादीहरूलाई पीडितहरूको बचत रकम फिर्ता गर्ने सुनिश्चितताका आधारमा सहकारी ठगी मुद्दामा मिलापत्र गर्ने कानुनी बाटो खुलेको छ।
यस मुद्दामा रविसँगै आरोपित जीबी राई, कुमार रम्तेल लगायतमाथि पनि सहकारी ठगीबाहेकका अन्य दुई अभियोग खारेज भएका छन्।
यसअघि जिल्ला अदालत कास्की र पर्साले पनि सहकारी ठगीबाहेकका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरिसकेका थिए।









