काठमाडौँ, १४ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही स्वर्गीय तेञ्जीङ नोर्गे शेर्पाले नेपाली पर्वतारोहण क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै ‘तेञ्जीङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ सुरु भएको छ ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आजदेखि ठमेलस्थित ‘एस्ट्रेक क्लाइम्बिङ सेन्टर’मा तेस्रो संस्करणको ‘तेञ्जीङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ सुरु भएको हो ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुलसिङ गुरुङले पर्वतारोहण खेलको प्रवद्र्धन तथा नेपालको साहसिक पर्यटनलाई उकास्ने मुख्य उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल तथा विदेशी आरोहीको सहभागिता रहेको छ ।
अध्यक्ष गुरुङले प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेलको प्रवद्र्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गरेको बताउनुभयो । “यस वर्षको प्रतियोगिता विशेष छ, किनभने पहिलो पटक लिड क्लाइम्बिङ विधामा आरोहीले प्रतिस्पर्धा गर्नेछन्, अघिल्ला दुई संस्करण भने टप–रोप क्लाइम्बिङमा मात्र सीमित थिए,”–उहाँले भन्नुभयो ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा २७ जना पुरुष र ११ जना महिला खेलाडीको सहभागीता रहेको छ । प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय खेलाडीले क्रमशः रु ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्नेछन् । तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको उक्त प्रतियोगिता सन् १९५३ मे २९ मा सर एड्मण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले नेपालमा विकसित हुँदै गएको साहसिक आरोहण खेल संस्कृतिलाई थप प्रवद्र्धन गर्नुका साथै युवा पुस्तालाई साहसिक खेल तथा पर्वतारोहणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।










