काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पटक-पटक उल्लंघन गर्ने चालकहरूमाथि कारबाही प्रक्रियालाई थप कडा बनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेश सुवेदीले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) ६ महिनाका लागि निलम्बन गर्न सुरु गरिएको जानकारी दिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्दै प्रहरीले यो कदम चालेको हो । उक्त दफामा ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ ।
प्रवक्ता सुवेदीले सार्वजनिक सवारीसाधन र एम्बुलेन्स जस्ता संवेदनशील सवारी चलाउने चालकहरूले लागुऔषध (लापसे) वा मादक पदार्थ (मापसे) सेवन गरेको भेटिएमा त्यसलाई झन् गम्भीर रूपमा लिई कारबाहीको दायरामा ल्याइएको बताए ।
‘परम्परागत शैलीभन्दा अगाडि बढेर रचनात्मक र प्रविधिमैत्री ढंगले कानुन कार्यान्वयनमा लागेका छौं,’ उनले विकासन्युजसँग भने, ‘पटक-पटक उल्लंघन गर्दा पनि सजग नहुने चालकलाई सचेत गराउन निलम्बन प्रक्रिया अनिवार्य देखिएको हो ।’
यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीले पटक-पटक कारबाहीमा पर्ने चालकको लाइसेन्स नै निलम्बन गरिने चेतावनी दिए । ‘पटक-पटक कारबाहीमा परिराख्ने चालकको लाइसेन्स अब निलम्बन हुन्छ । हामीले यो प्रक्रिया अघि बढाइसकेका छौं,’ अधिकारीले भने ।
प्रहरीले विगत ३ हप्तादेखि नै यातायात व्यवस्था विभागलाई पत्राचार गरी यो प्रक्रिया सुरु गरिसकेको छ । हालसम्म ३१ जनाको लाइसेन्स निलम्बन भइसकेको र अन्य चालकहरूको पनि अभिलेख (रेकर्ड) कडाइका साथ जाँच भइरहेको छ ।
लाइसेन्स निलम्बन भएको अवधिमा सम्बन्धित चालकले सवारीसाधन चलाउन पाउने छैनन् । यदि निलम्बनको अवस्थामा सवारी चलाएको भेटिएमा कानुनअनुसार थप कारबाही हुने समेत प्रहरीले जनाएको छ । हाल यो अभियान उपत्यकामा विशेष रूपमा केन्द्रित भए तापनि उपत्यका बाहिर पनि यस्तो कारबाही प्रक्रिया चलिरहेको सुवेदीले जानकारी दिए ।
ट्राफिक नियम उल्लंघन गर्ने सभामुखको सवारीदेखि अगुवा पछुवा गाडीसम्म कारबाहीमा पर्न थालेका छन् ।प्रवक्ता सुवेदीका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक चेकिङ अभियानका क्रममा ३ लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २३ हजार ४८, रातोबत्तीको नियम उल्लङ्घन गर्ने २८ हजार ३०८, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२, लेनक्रस गर्ने २३ हजार ९८४, सवारीको स्वरुप परिवर्तन गर्ने एक हजार ४५०, भाडा बढी असुल्ने ८९०, लागु पदार्थ सेवन (लापसे) १२४, यान्त्रिक अवस्था ठिक नभएका सवारी दुई हजार ८३१, मोड्न निषेध उल्लङ्घन गर्ने ३७ हजार ४७२, हर्न निषेधमा छ हजार २५७, डबल चालक ३५०, सवारीचालक अनुमतिपत्रबिना सवारी चलाउने १० हजार ४८९ चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए । उनका अनुसार अन्य कारबाहीमा २ लाख, १४ हजार ५८७ परेका छन् ।
कार्यालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ४ हजार ६३१ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनाहरूमा परेर १७४ जनाले ज्यान गुमाएका छन् भने ठुलो संख्यामा नागरिकहरू घाइते भएका छन् । दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् भने ४ हजार ९२७ जनाले सामान्य चोटपटक भोगेका छन् । मृत्यु हुने १७४ जनामध्ये १६ वर्षमुनिका ७ जना १६ देखि ३५ वर्षसम्मका ८६ जना तथा ३६ वर्षभन्दा माथिका ८१ जना रहेका छन् ।










