काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच सम्पन्न खेलका क्रममा लुम्बिनी लायन्सको मस्कटमाथि जुत्ता प्रहार भएको घटनाप्रति जनकपुर बोल्ट्सको आधिकारिक फ्यान क्लब ‘बोल्ट्स आर्मी’ले ध्यानाकर्षण जनाएको छ।
बोल्ट्स आर्मीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफ्नो फ्यान क्लबका कुनै पनि सदस्यको संलग्नता नरहेको स्पष्ट पारेको छ।
खेलभावनाविपरीत र अमर्यादित व्यवहारप्रति असहमति जनाउँदै क्लबले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
त्यस्तै, छानबिनका क्रममा दोषी पाइएमा सम्बन्धित व्यक्तिलाई नियमानुसार आवश्यक कारबाही गर्न पनि बोल्ट्स आर्मीले आग्रह गरेको छ।
खेलकुदमा अनुशासन, आपसी सम्मान र खेलभावना कायम राख्नुपर्नेमा जोड दिँदै फ्यान क्लबले घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।









