डोल्पामा हिमपातपछि दुई महिलासहित ६ भारतीय पर्यटक सम्पर्कविहीन

डोल्पामा हिमपात

सुर्खेत । डोल्पामा लगातार हिमपात भएपछि शे–फोक्सुण्डो तालतर्फ आउँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।

डोल्पो बुद्ध गाउँपालिकाबाट शे–फोक्सुण्डो तालतर्फ जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

हिमाली क्षेत्रमा भएको हिमपातका कारण पर्यटकहरू बाटोमै फसेको हुन सक्ने स्थानीय गाइडले आशंका गरेका छन्। उक्त क्षेत्रमा सञ्चार सम्पर्क नहुने भएकाले उनीहरूको अवस्थाबारे यकिन जानकारी लिन कठिन भइरहेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुङले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार पछिल्लो जानकारीसम्म पनि ६ जना भारतीय पर्यटक सम्पर्कमा आएका छैनन्। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग आग्रह गरिएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन्। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क राष्ट्रका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन्।

प्रतिकूल मौसम र हिमपातका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले पर्यटकहरूलाई जोखिमयुक्त क्षेत्रमा नजान तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation