काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधारसँगै कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपाली युवाले निर्माण गरेका गेमहरूले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरिरहेको बताएका हुन् ।
उनका अनुसार नेपालीले विकास गरेको विश्व चर्चित ‘लुडो गेम’ झण्डै २० करोड पटक डाउनलोड भएको छ भने ‘कलब्रेक गेम’ १५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ । यसबाहेक नेपालमा सयौँ युवा गेम एप निर्माण तथा विकासको क्षेत्रमा सक्रिय रहेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले गेम डेभलपमेन्ट क्षेत्रमा कार्यरत युवाहरूसँग छलफल गरी उनीहरूले भोग्दै आएका समस्या र उद्योग विस्तारका सम्भावनाबारे जानकारी लिइएको पनि बताएका छन् । उक्त क्षेत्रलाई व्यवस्थित र सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य सुरु गरिएको उनको भनाइ छ ।
उनले नेपालबाटै विश्वस्तरका प्रविधि कम्पनी स्थापना गर्न सहज हुने गरी विद्यमान नियम, नीतिगत व्यवस्था र व्यावसायिक वातावरणको पुनरावलोकन गरिने बताएका छन् ।
त्यस्तै, सूचना प्रविधिका उत्पादन तथा सेवा निर्यातमा पनि ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न र त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।









