३५ वर्ष मुनिको कांग्रेस केन्द्रीय सदस्यमा ३६ वर्षीय भट्ट निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्ट ३६ वर्ष पुगेको पाइएको छ । भट्ट कांग्रेसको १५ औ महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

भट्टको २०४८ असोज १३ गते लमजुङको चक्रतिर्थ ८ जन्म भएको थियो । जन्म मितिले ३५ वर्ष पुगे पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको दिनसम्ममा उनी ३६ वर्ष पुगेका थिए।

भट्टले केन्द्रीय सदस्यमा असोज २० गते उम्मेदवारी दर्ता गराएका थिए । उनी उम्मेदवारी दर्ता गराउँदा सम्म ७ दिनले ३६ वर्ष पुगेको पाइएको छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन काठमाडौंको खुला मञ्चमा असोज १६ देखि सुरु भएको थियो । असोज २१ र २२ गते केन्द्रीय कार्यसमितिका लागि निर्वाचन भएको थियो ।

भट्ट क्षेत्रीय प्रतिनिधिमा ३५ वर्ष मुनिको नभइ खुल्लाबाट निर्वाचितसमेत भएका थिए । उनी महाधिवेशनमा सहभागी हुनका लागि ३५ वर्ष मुनिबाट निर्वाचित हुनुपर्ने थियो ।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधनसहित), परिच्छेद ७ अन्तर्गत केन्द्रीय कार्यसमिति तथा केन्द्रीय कार्यसम्पादन समितिसम्बन्धी धारा २१ को उपधारा (१०) मा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था उल्लेख छ ।

३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना तथा खुलातर्फ सात जना गरी कुल २१ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिको संयोजक प्रेमबहादुर खड्का (वरिष्ठ अधिवक्ता तथा केन्द्रीय सदस्य) सदस्य-सचिव राजु कटुवाल (अधिवक्ता) र सदस्य सुजन लोप्चन रहेका थिए । नेपाली कांग्रेसको १५ औ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिमा समेत भट्टविरुद्ध उजुरी परेको छ ।

३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी विवरण आधिकारिक नागरिकता तथा अन्य प्रामाणिक कागजातका आधारमा छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

प्रत्येक उम्मेदवारको उमेर मनोनयन दर्ता गर्दाको मितिलाई आधार मानी विधानमा तोकिएको उमेरसम्बन्धी योग्यता पूरा भए(नभएको यकिन गर्नुपर्ने उजुरीमा उल्लेख छ ।

सुशील भट्टको हकमा मनोनयन दर्ताको मितिमै ३५ वर्ष उमेर कटिसकेको तथ्य पुष्टि भएको उजुरीमा बताइएको छ । नागरीकतामा उल्लेखीत उमेरलाई आधार मानी तत्काल छानबिन अघि बढाउन मा गरिएको छ ।

३५ वर्ष मुनिका क्लस्टरबाट निर्वाचित अन्य सदस्यहरूको उमेर तथा उम्मेदवारीको वैधानिकता पनि निष्पक्ष र प्रमाणमा आधारित ढङ्गले परीक्षण गर्नुपर्ने उजुरीमा बताइएको छ ।

उजुरीमा निर्धारित उमेरसीमा पूरा नगरेको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको उम्मेदवारी तथा निर्वाचनको वैधानिकता पुनरावलोकन गरी विधान र प्रचलित निर्वाचन नियमावली बमोजिम उक्त उमेदवारको निर्वाचन परिणाम बदर गरी अन्य आवश्यक कारबाही गर्नुपर्ने बताइएको छ ।

त्यसैगरी, केन्द्रीय सदस्य भट्टको उमेरबारे प्रश्न गर्दा १५ औ महाधिवेशनको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले असोज ३ गते सम्म ३५ वर्ष रहेको बताए । केन्द्रीय सदस्यको उम्मेदवारी गराउँदा सम्म उनी ३६ वर्ष पुगेको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया सुरु भएको समयलाई आधार मान्यो,’ कटुवालले भने । उनका अनुसार दर्ता भएको समयमा उम्मेदवारको उमेरलाई ख्याल नगरिएको उनको भनाइ छ ।

३५ वर्ष मुनिका केन्द्रीय सदस्य सुसिल भट्टले उमेरको बारेमा जिज्ञासा राख्दा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदा ३५ वर्षको रहेको प्रतिक्रिया दिए । अधिवेशनको सुरुवातीमा आफू ३५ वर्ष रहेकाले विधान अनुसार उम्मेदवारी दर्ता गरेको उनको जिकिर छ ।

भट्टले उम्मेदवारी गराउँदा पार्टीका शिर्षस्थ नेतालाई उमेरको बारेमा सल्लाह गरेको बताए । ‘लोकसेवा आयोगको परीक्षा दिँदा एउटा उमेर हुन्छ । रिजल्ट आइपुग्दा अर्को उमेर हुन्छ ।

अधिवेशन प्रारम्भिक दिनमा मेरो एउटा उमेर थियो । मेरो पनि त्यस्तै भएकाले उम्मेदवारी दर्ता गराउँदा सम्ममा अर्को उमेर भएको हो,’भट्टले दाबी गरे । भट्ट पार्टीका महामन्त्री प्रदीप पौडेल निकट मानिन्छन् ।
पार्टीका एक केन्द्रीय सदस्यले निर्वाचन समितिले उम्मेदवारी मनोनयन गराउँदा उमेरको ख्याल गर्नुपर्ने बताए । उम्मेदवारीको दर्ता चरणमै निर्वाचन समितिले सानो- सानो कुरामा ख्याल गर्नुपर्ने उनले धारणा राखे ।

‘उम्मेदवारी मनोनयन दर्ता गराउँदा विधान अनुसार निर्वाचन समितिले काम गर्नुपर्छ,’ ती केन्द्रीय सदस्यले भने,’ उम्मेदवारको नियत गलत देखिएमा निर्वाचन समिति र नेतृत्त्व तहले एउटा निर्णय लिनुपर्ने छ ।’
उनले अहिले निर्वाचन समितिले अधिवेशनको सुरुवाती समयको उमेर हेरेर निर्णय लिएको भनेर तर्क गर्न नहुने बताए । उमेरको तथ्यलाई हेरेर प्रामाणिक कागजातलाई हेरेर निर्णय लिनुपर्छ । यस्ता प्रवृत्तिले गलत नजिर बस्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation