त्रिवि क्रिकेट मैदानमा आइतबारसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन प्रतिबन्ध

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीका लागि अन्तिम चरणका काम गर्नुपर्ने भएकाले आइतबारसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडानमा प्रतिबन्ध लगाइएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सूचना जारी गर्दै भोलिदेखि आगामी आइतबार, २०८३ कार्तिक ८ गतेसम्म मैदानमा कुनै पनि प्रयोजनका लागि प्रवेश अनुमति नहुने जनाएको हो।

मैदानमा अन्तिम तयारीका कार्यहरू गर्नुपर्ने भएकाले भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण, ड्रोन उडानलगायतका गतिविधिका लागि प्रवेश निषेध गरिएको क्यानले स्पष्ट पारेको छ। यसबाट पर्न जाने असुविधाप्रति क्यानले क्षमासमेत मागेको छ।

यसैबीच, क्यानले आगामी आइतबार (कार्तिक ८ गते) तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल–३) को तयारीसम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै मैदानमा तयारीका कामहरू अघि बढिरहेका बेला क्यानले सञ्चारकर्मी, युट्युबर तथा अन्य सरोकारवालालाई उक्त सूचनाअनुसार सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation