नाइमाद्वारा रसुवा बाढी प्रभवितका लागि ५० लाख सहयोग

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै नाइमाले विपद् सुरुवातदेखि नै आफ्ना सदस्य कम्पनीले आर्थिक, यातायात तथा लजिस्टिक जस्ता माध्यमबाट उद्धार र राहत कार्यमा सक्रिय योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

विपद्को यो घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् ।

‘यस्तो कठिन समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनर्स्थापना प्रभावकारी बनाउन सक्छ,’ वैद्यले भनिन्, ‘सहयोग र सहकार्यका लागि तत्परता देखाउनुभएका सम्पूर्ण सदस्य कम्पनीप्रति धन्यवाद छ ।’

नाइमाले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएको स्मरण गराएको छ ।

संस्थाले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation