भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी

काठमाडौं । नाट्टाले थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा सहजता नल्याए पर्यटकीय प्याकेज बन्द गर्ने भएको छ । भिसा ढिलाइ र अव्यावहारिक सर्तका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायी ठूलो आर्थिक जोखिममा परेक भन्दै नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटकीय प्याकेज बन्द गर्ने चेतावनी दिएको हो ।

नाट्टाले भिसा प्रक्रिया तत्काल सुधार नभए थाइल्यान्डका लागि पर्यटकीय प्याकेज बिक्री, प्रचारप्रसार तथा समूहगत भ्रमण सञ्चालन स्थगित गर्ने नाट्टाले चेतावनी दिएको छ ।

नाट्टाका अनुसार थाइल्यान्डको भिसा प्राप्त हुने निश्चित नहुँदा यात्रुले अग्रिम रूपमा हवाई टिकट र होटल बुकिङ पेस गर्नुपर्ने बाध्यता छ ।

भिसा अस्वीकृत भएमा वा यात्राको निर्धारित मिति सकिएपछि मात्रै निर्णय आएमा अग्रिम भुक्तानी गरेको रकम फिर्ता नपाउने जोखिम रहेको नाट्टाले जनाएको छ।

कम मूल्यका हवाई टिकटमा रकम फिर्ता नहुने वा रद्द गर्दा ठूलो शुल्क तिर्नुपर्ने व्यवस्थाले यात्रु र पर्यटन व्यवसायीको आर्थिक जोखिम थप बढाएको नाट्टाको भनाइ छ ।

सम्पूर्ण कागजात पूरा गरेर आवेदन दिँदासमेत भिसा अस्वीकृत हुने वा समयमा निर्णय नआउने घटनाले नेपाली यात्रु तथा व्यवसायीको लाखौँ अमेरिकी डलर बराबरको रकम जोखिममा परेको नाट्टाले जनाएको छ ।

अनलाइन बुकिङ माध्यम तथा व्यावसायिक आरक्षण प्रणालीमार्फत गरिएको होटल बुकिङलाई पर्याप्त नभगको भन्दै होटलबाटै छुट्टै पुष्टि पत्र माग्ने व्यवस्थाले भिसा प्रक्रिया थप जटिल बनाएको नाट्टाको आरोप छ ।

भिसा स्वीकृत हुने सुनिश्चितता नहुँदै अग्रिम भुक्तानी गर्नुपर्ने, बुकिङमा थप सर्तहरू पूरा गर्नुपर्ने र अन्ततः भिसा अस्वीकृत हुँदा वा ढिलो निर्णय आउँदा आर्थिक क्षति बेहोर्नुपर्ने अवस्थाले नेपाली यात्रु तथा व्यवसायी अन्यायमा परेको नाट्टाको ठहर छ ।

नाट्टाले आर्थिक शोषणको सम्भावनासमेत औँल्याउँदै निष्पक्ष छानबिनको माग गरेको छ । भिसा प्रक्रियासँग सम्बन्धित आर्थिक जोखिम नेपाली यात्रु र व्यवसायीमाथि मात्रै थोपर्ने व्यवस्था स्वीकार्य नहुने नाट्टाको भनाइ छ ।

भिसा नीति तथा सार्वभौम अधिकारको सम्मान गरिए पनि भिसा निर्णयमा हुने ढिलाइका कारण यात्रुले अनावश्यक आर्थिक भार बेहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने नाट्टाले जनाएको छ ।

थाइल्यान्डको भिसा प्रक्रियालाई पारदर्शी, व्यावहारिक, समयबद्ध र आर्थिक रूपमा न्यायोचित बनाउन माग गर्दै नाट्टाले रोयल थाई दूतावाससँग तत्काल उच्चस्तरीय आपत्कालीन बैठकका लागि पत्राचार गरेको जनाएको छ ।

चाडपर्वका समयमा समेत भिसा प्रक्रियामा सुधार नभए यात्रुहरूको आर्थिक क्षति थप बढ्न सक्ने भन्दै नाट्टाले चिन्ता व्यक्त गरेको छ ।

समस्या समाधान नभए थाइल्यान्डलाई नेपाली पर्यटकका लागि प्रवर्द्धन गरिने गन्तव्यको सूचीबाट हटाउने र त्यहाँको पर्यटन प्रवर्द्धन स्थगित गर्ने नाट्टाले चेतावनी दिएको छ ।

नाट्टाले थाइल्यान्डका नयाँ पर्यटकीय प्याकेज बिक्री तथा वितरण रोक्ने, विज्ञापन र प्रचारप्रसार बन्द गर्ने, नयाँ समूहगत भ्रमण तथा नियमित भ्रमण शृङ्खला सञ्चालन नगर्ने उल्लेख गरेको छ ।

नेपाली यात्रुलाई सहज तथा सुरक्षित वैकल्पिक अन्तर्राष्ट्रिय गन्तव्य रोज्न प्रोत्साहित गर्ने नाट्टाले जनाएको छ ।

नाट्टाले यो कदम नेपाली पर्यटन व्यवसायीको लगानी र उपभोक्ताको हित संरक्षणका लागि चाल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने स्पष्ट पारेको छ ।

नेपाली ट्राभल एजेन्सीहरूले थाइल्यान्डलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै त्यहाँको पर्यटन उद्योगमा योगदान पुर्‍याउँदै आएका छन् ।

यस्तो अवस्थामा नेपाली यात्रुले सम्मानजनक, समयमै टुङ्गो लाग्ने र न्यायोचित भिसा प्रक्रिया पाउनुपर्ने नाट्टाको माग छ ।

नाट्टाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित कूटनीतिक निकायलाई तत्काल सक्रिय हुन आग्रह गरेको छ ।

थाई सरकार तथा रोयल थाई दूतावाससँग उच्चस्तरीय कूटनीतिक पहल गरी भिसा प्रक्रियामा देखिएका समस्याको वास्तविक अवस्था स्पष्ट पार्न माग गरेको छ ।

आवश्यक छानबिन गर्न र नेपाली यात्रु तथा व्यवसायीलाई थप आर्थिक क्षतिबाट जोगाउन नाट्टाले माग गरेको छ ।

भिसा प्रक्रियामा हुने अनिश्चितताका कारण नेपाली यात्रु र पर्यटन व्यवसायीले निरन्तर आर्थिक जोखिम बेहोर्नुपरेको नाट्टाले जनाएको छ । थाइल्यान्डको पर्यटन प्रवर्द्धनसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्न बाध्य हुने नाट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation