बीपीको ४४औँ स्मृति दिवसमा कांग्रेसले बिशेष कार्यक्रम गर्ने 

काठमाडौं । नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४४औँ स्मृति दिवस साउन ६ र ७ गते देशव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जलवायु परिवर्तन, सामाजिक उत्तरदायित्व र नयाँ राजनीतिक अभियानलाई केन्द्रमा राखेर कांग्रेसले विशेष कार्यक्रम तय गरेको उपसभापति विश्व प्रकाश शर्माले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्षको स्मृति दिवस ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित मनाउन लागिएको जानकारी शर्माले दिएका हुन ।

प्रधानमन्त्री रहँदा बी.पी. कोइरालाले गरेको जंगल राष्ट्रियकरणको निर्णयलाई अहिलेको जलवायु संकटसँग जोड्दै कांग्रेसले वातावरण संरक्षण र दिगो विकासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको शर्माले बताएका थिए ।

कोइरालाको स्मृति दिवसको पहिलो दिन साउन ६ गते बिहान ६ बजे ललितपुरस्थित यूएन पार्कबाट ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरिने र सोही दिन लाइभ पेन्टिङ कार्यक्रम हुनेछ । साथै, दोस्रो दिन साउन ७ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गरिने शर्माले पत्रकारहरुलाई जानकारी दिए ।

‘ग्रीन रन’मा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ भने प्रतिस्पर्धामा सहभागी नहुनेका लागि २.५ किलोमिटरको अलग रुट तय गरिएको छ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई २५ हजार र तृतीयलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। चौथो, पाँचौँ र छैटौँ स्थान हासिल गर्नेले पनि नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्नेछन्।

‘ग्रीन रन’मा सहभागीको संख्याका आधारमा ‘मानवीय सहयोग कोष’ स्थापना गरिने कांग्रेसले जनाएको छ। उक्त कोषबाट संकलित रकम पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको हितमा खर्च गरिने बताइएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुकले पार्टीको फेसबुक पेज तथा गुगल फारममार्फत साउन ४ गते मध्यरातसम्म अनलाइन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।

ग्रीन रनपछि जावलाखेलमा ‘ग्रीन टेबल संवाद’ आयोजना हुनेछ। ‘जलवायु परिवर्तन, नेपाल, लोकतन्त्र र भावी पुस्ता’ विषयक छलफलमा जलवायु विज्ञ मञ्जित उकाल, अभिषेक यादव, डा. मनु कार्की तथा सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सहभागी हुने जनाइएको छ।

यसैबीच, २० भन्दा बढी कलाकारले जलवायु संकटको गम्भीरता झल्काउने ‘लाइभ पेन्टिङ’ गर्नेछन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पहिलो स्केच बनाएर कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम छ। कार्यक्रममा सहभागी प्रत्येकलाई एक–एक वटा बिरुवा पनि वितरण गरिनेछ।

स्मृति दिवसको दोस्रो दिन साउन ७ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गरिनेछ। सोही कार्यक्रममा सभापति गगनकुमार थापाले ‘जरा अभियान’पछि पार्टीको नयाँ अभियान सार्वजनिक गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ।

बी.पी. कोइरालाको लोकतान्त्रिक आदर्श, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्ने उद्देश्यसहित आयोजना गरिएका यी कार्यक्रमलाई कांग्रेसले स्मृति दिवसलाई औपचारिक श्रद्धाञ्जलिमा सीमित नराखी समसामयिक राष्ट्रिय बहस र नागरिक सहभागितासँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation