एडनबर्गमा नेपाली मेला स्कटल्याण्ड २०२६ सम्पन्न, पहिलो पटक सुदुरपश्चिमको देउडा प्रस्तुत

स्कटल्याण्ड । स्कटल्याण्डको राजधानी एडिनबरामा ‘दोस्रो नेपाली मेला २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समिति (NRNA NCC UK) को सहयोगमा राज्य समन्वय समिति (SCC) तथा स्कटल्याण्डका विभिन्न नेपाली संघ–संस्थाको संयुक्त आयोजनामा मेला सम्पन्न भएको हो ।

गत वर्ष २३ जुन २०२५ मा दूतावासकै सहयोगमा पहिलो ऐतिहासिक नेपाली मेला आयोजना गरिएको थियो । त्यसकै निरन्तरतास्वरूप यस वर्ष दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको कार्यवाहक राजदूत विपिन दुवाडीले जानकारी दिए । उनका अनुसार बेलायतका प्रमुख सहरमा आयोजना हुने यस्ता मेलाले नेपाली पर्यटन, कला, संस्कृति, भाषा तथा भेषभूषाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

पहिलो मेलाका संयोजक तथा NRNA NCC UK का महासचिव दिवाकर पाण्डेका अनुसार स्कटल्याण्डमा नेपाली मेलाको सुरुआत कार्यवाहक राजदूत दुवाडीको पहलमा भएको हो। उनले नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिइएको बताए ।

मेला सफल बनाउन NRNA NCC UK का अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा गठित आयोजक समितिले समन्वयात्मक भूमिका खेलेको थियो । सल्लाहकारद्वय मोती खरेल र शशी कार्कीका अनुसार स्कटल्याण्डका पदाधिकारी, सदस्य, सल्लाहकार तथा SCC स्कटल्याण्डबीच भएको संयुक्त छलफल र सहकार्यका आधारमा कार्यक्रम प्रभावकारी रूपमा आयोजना गरिएको हो ।

मेलाको अवसरमा कार्यवाहक राजदूत दुवाडीले शुभकामना व्यक्त गर्दै पहिलो नेपाली मेलाका आयोजक समितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरे । आयोजकहरूले स्कटल्याण्डमा नेपाली मेलालाई प्रत्येक वर्ष नेपाली समुदायको साझा सांस्कृतिक पर्वका रूपमा स्थापित गर्ने लक्ष्यका साथ निरन्तरता दिइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation