काठमाडौं । बङ्गलादेशमा आगामी १६ र १७ तारिख हुने १०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिप मा सहभागी हुन जाने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङलाई सोमबार दशरथ रङ्गशालास्थित अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा आयोजित विशेष कार्यक्रममा भव्य बिदाइ गरिएको छ।
सोतोकान परिवारले दुवै खेलाडीलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दै राष्ट्रको प्रतिष्ठा उच्च राख्ने विश्वास व्यक्त गरेको थियो। कार्यक्रममा प्रशिक्षक, खेलाडी तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपालका अनुभवी कराँते खेलाडी अजय बलोन तामाङले यसअघि सातौँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक तथा आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाइसकेका छन्। यसपटक पनि उहाँसँगै सुजन तामाङले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उज्यालो बनाउने विश्वास व्यक्त गरिएको छ।
बिदाइ कार्यक्रममा सोतोकानका दिलेन्द्र बैधे, बुद्धराज नेगी, धिर्जमान तामाङ, ऋषि लामा, प्रकाश श्रेष्ठ, धिरज उपरकोटी, रामनारायण, बिकबहादुर थामी, महमद आलम, पञ्च लामा, प्रेम सिंह, दीपक बरालीलगायत प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सोतोकान केन्द्रीय टिमका वरिष्ठ गुरु धिर्जमान तामाङले खेलाडीहरूलाई अनुशासन, मेहनत र राष्ट्रप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै खेल्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, खेलाडीले अनुशासन, कडा मेहनत र खेलप्रतिको समर्पणलाई प्राथमिकतामा राख्दै राष्ट्रको सम्मानका लागि उत्कृष्ट प्रदर्शन गर्नुपर्छ। खेलको नियम पालना गर्दै आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न म शुभकामना व्यक्त गर्दछु।
त्यसैगरी सोतोकान केन्द्रीय टिमका धिरज उपरकोटीले राष्ट्रका लागि खेल्ने खेलाडीहरू आफ्नै खर्चमा विदेश गएर प्रतियोगितामा सहभागी हुनुपर्ने अवस्था दुःखद भएको बताउनुभयो। उहाँले दुई पटक दक्षिण एसियाली स्तरमा पदक जितिसकेका खेलाडीसमेत राज्यको पर्याप्त सहयोगबाट वञ्चित हुनु गम्भीर विषय भएको उल्लेख गर्दै भन्नुभयो, राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरूलाई राज्यले आवश्यक लगानी, संरक्षण र प्रोत्साहन गर्नुपर्छ। आफ्नै खर्चमा विदेश गएर देशको झण्डा उचाल्न बाध्य हुनु उचित होइन। खेल क्षेत्रलाई प्राथमिकतामा राखी सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक छ।
कार्यक्रममा सहभागी सबैले नेपाली टोलीले बङ्गलादेशमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णिम सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका थिए। नेपालका सम्पूर्ण खेलप्रेमीका तर्फबाट अजय बलोन तामाङ, सुजन तामाङ तथा सम्पूर्ण नेपाली टोलीलाई प्रतियोगिताको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा उच्च राख्न सफल होऊन् भन्ने कामना गरिएको छ।










