काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सङ्घीय संरचनाको पुनर्संरचना तथा प्रदेशसभाको खारेजीसम्बन्धी प्रस्ताव सार्वजनिक भएको ७२ घण्टा नबित्दै रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सङ्घीयता र समावेशी लोकतन्त्रको पक्षमा सार्वजनिक धारणा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सांसद सिंहले नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
उनले लेखेका छन्, ‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दै छु-नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन् । जनताले सुशासन र समृद्धि खोजेका छन् । हामी हरेक कदममा जनताको साथ हुनेछौँ ।’
रास्वपाको राजनीतिक प्रतिवेदनमा वर्तमान सङ्घीय संरचनाको पुनर्समीक्षा, प्रदेशसभाको खारेजी तथा शासन प्रणालीमा व्यापक सुधारका प्रस्ताव समावेश गरिएपछि त्यसबारे राजनीतिक वृत्तमा बहस भइरहेको छ ।
यहीबीच रास्वपाकै सांसद सिंहको सार्वजनिक अभिव्यक्तिलाई महाधिवेशनमा प्रस्तुत प्रतिवेदनसँग जोडेर विभिन्न राजनीतिक टिप्पणी हुन थालेका छन् । सिंहले भने आफ्नो सन्देशमा कुनै दल वा प्रतिवेदनको नाम उल्लेख नगरी लोकतन्त्र, सङ्घीयता र समावेशी व्यवस्थाको पक्षमा आफू दृढ रहेको धारणा व्यक्त गरेका छन् ।










