काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू अमेरिकाबाट दुई चार वर्षको लागि घुम्न नेपाल फर्किएको भएपनि देशसँग पिरती बसेकाले नफर्किएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पुरानो गीत म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो भन्ने गीतको स्मरण गरे।
उनले भने, ‘सोच्दै जाँदा एउटा गीतको सम्झना आयो, यो नयाँ युवा साथीहरूलाई सुन्नुभएको छैन होला, पुराना साथीहरूले सुन्नुहुन्थ्यो ‘म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो’ भन्ने एउटा गीत छ। यो पहिला पहिला खुब गाइन्थ्यो।’
उनले आफू सांसद, मन्त्री हुने मान्छे पनि नभएको बताए।
उनले थपे, ‘तर मलाई पिरतीले मलाई सांसद र मन्त्री बनायो। र पिरतीले म जोगी भएँ । मेरो पिरती खासगरी देशसँग बसेको हो। तर सुरुमा एकैचोटि देशसँग बसेको होइन, म अमेरिकाबाट यसो घुम्न आएको मान्छे, गाउँसँग पिरती बस्यो। गाउँसँग पिरती बस्दाबस्दै जिल्लासँग पिरती बस्यो, जिल्लाबाट अरू अरू जिल्ला हुँदाहुँदै देशसँग पिरती बस्यो। त्यसैले अहिले म जोगी भएँ, पक्का जोगी हो म।’
उनले सदन आफूलाई मनपर्ने कक्षा भएपनि मन्त्री भएपछि सधैँ आउन नपाएको गुनासो गरे। उनले अगाडि भने, ‘मेरो आफ्नो प्रिय एकदम मनपर्ने क्लास मन्त्री भएपछि बेलाबेला छोड्नुपर्ने भएको छ। म त्यसमा माफी पनि दिन चाहन्छु।’









