काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट सामान्य नागरिकझैँ शान्त रूपमा बाहिरिँदै गरेका व्यक्ति थिए—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद मिङ्मा डेबिड शेर्पा। पदले ‘माननीय’ भए पनि उनको जीवनशैली र व्यवहार सामान्य नागरिककै जस्तो देखिन्थ्यो। तर, उनको परिचय भने असाधारण छ।
मिङ्मा हालसम्म १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका नेपाली हुन्। केही दिनअघि मात्रै उनले केवल ९ दिनमै सगरमाथाको चुचुरोमा पुगेर पुरानो समयसीमा तोड्दै नयाँ कीर्तिमान कायम गरे। यसपटक उनले संघीय संसदको लोगो अंकित झण्डासमेत सगरमाथाको शिखरमा फहराए। विश्वकै पहिलो सांसदका रूपमा सगरमाथा आरोहण गरेको दाबीसमेत उनको नामसँग जोडिएर चर्चामा छ, यद्यपि यसको औपचारिक पुष्टि हुन बाँकी छ।
तर यति ठूलो उपलब्धि बोकेर फर्किएका एक सांसदको स्वागतका लागि विमानस्थलमा न सरकारका प्रतिनिधि देखिए, न संसद सचिवालयका पदाधिकारी, न त उनकै दलका शीर्ष नेताहरू। केही दिनअघि उनलाई शुभकामना दिएर विदाइ गर्ने सभामुखसमेत फर्कँदा अनुपस्थित रहे। यस्तो दृश्यले एउटा गम्भीर प्रश्न खडा गर्छ—के नेपालले आफ्ना वास्तविक गौरवहरूलाई सम्मान गर्न सिकेको छैन ?
मिङ्मा स्वयं भन्छन्, “म कीर्तिमानभन्दा पनि हिमाल र पर्यटन क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा विश्वास गर्छु।” उनको भनाइमा गहिरो सत्य लुकेको छ। सगरमाथा केवल हिमाल होइन, नेपालको पहिचान, अर्थतन्त्र र विश्वमाझको प्रतिष्ठा हो। तर विडम्बना, हामीले यसको मूल्य अझै पूर्ण रूपमा बुझ्न सकेका छैनौँ।
विदेशी पाहुनाको स्वागतमा रातो कार्पेट बिछ्याउने हाम्रो राज्य संयन्त्र आफ्नै देशका विश्वस्तरमा चिनिएका व्यक्तित्वहरूको सम्मान गर्न किन चुकिरहेको छ ? एउटा सांसदले संसदको झण्डा विश्वको सर्वोच्च शिखरमा पुर्याउँदा त्यसलाई राष्ट्रिय गौरवको विषय बनाइनु पर्ने होइन र ?
देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने व्यक्तिहरूको सम्मान केवल औपचारिकता होइन, त्यो राष्ट्रको आत्मसम्मानसँग जोडिएको विषय हो। यदि यस्ता उपलब्धिलाई राज्य र समाजले बेवास्ता गर्ने हो भने भविष्यमा देशका प्रतिभाशाली युवाहरूलाई प्रेरणा दिने आधार नै कमजोर बन्न सक्छ।
अब प्रश्न राज्य र राजनीतिक दलहरूमाथि छ—हामी आफ्ना कीर्तिमानी सन्तानहरूको सम्मान कहिले गर्न सिक्ने ?










