डेढ घण्टा बन्द भएको विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थल पुनः सञ्चालनमा आएको छ। टर्किस एयरको विमानको ल्यान्डिङ गियरमा आगलागी भएपछि विमानस्थल करिब डेढ घण्टा बन्द गरिएको थियो।

टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाज आज बिहान ६ः३५ बजे काठमाडौं अवतरण गरेको थियो। अवतरणलगत्तै जहाजको दायाँपट्टिको ल्यान्डिङ गियरबाट आगोको मुस्लो देखिएको विमानस्थल स्रोतले जनाएको छ। घटनापछि तत्काल जहाजको इन्जिन बन्द गरिएको थियो।

त्यसपछि फायर कन्ट्रोल भेहिकलमार्फत आगो नियन्त्रणमा लिइएको हो। उक्त जहाजमा ११ जना क्याबिन क्रु सदस्यसहित २७७ यात्रु सवार थिए। सबै यात्रु र चालक दल सुरक्षित रहेको बताइएको छ। विमानलाई तानेर पार्किङ वेमा लगिएको विमानस्थलले जनाएको छ।

घटनाका कारण केही समय उडान तथा अवतरण प्रभावित भए पनि अहिले विमानस्थलको सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation