दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ झापामा हुने, प्रथम हुनेले एक लाख पुरस्कार पाउने

काठमाडौं। झापामा सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६ आयोजना हुने भएको छ। नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको आयोजनामा कोशी प्रदेशको दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आउँदो मे १५–१६ (जेठ १–२) गते दुई दिन हुने छ।

कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ। प्रतियोगिताको मुख्य उद्देश्य कोशी प्रदेशसहित देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण र प्रवद्र्धन गर्नुका साथै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको जजको लागि नेपालसहित १० देशका अन्तर्राष्ट्रिय सेफहरूको सहभागिता हुनेछ। उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हनेले ७५ हजार र तेस्रो हुनेले ५० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजकको भनाई छ।

यस्तै, प्रतियोगितामा देश तथा विदेशमा कार्यरत नेपाली शेफ, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककलामा रुचि राख्ने व्यक्तिहरूको व्यापक सहभागिता रहने अपेक्षा आयोजकको छ। आयोजकका अनुसार अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीमार्फत ४५ देशबाट शेफहरूको सहभागिता हुनेछ।

कार्यक्रमस्थलमा ५० भन्दा बढी फुड स्टल रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रस्तुत गरिनेछन्।

सोसाइटीका अध्यक्ष अरुण अधिकारीले देशभरका इच्छुक सहभागीलाई प्रतियोगितामा भाग लिन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation