हेटौँडा । लगातारको वर्षाका कारण कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढ्दै गएपछि कुलेखानी प्रथम जलविद्युत् आयोजनाले पहिलो चेतावनी जारी गरेको छ ।
जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले जलाशयमा पानीको मात्रा बढ्दै गएको आयोजनाले जनाएको छ । जलसतह नियन्त्रण गर्न आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
आयोजनाका अनुसार बाँधका ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना जारी गर्नुका साथै साइरन बजाएर पूर्वसूचना दिइनेछ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाँधको तल्लो तटीय क्षेत्र तथा नदी किनार आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई खोला किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । साथै, देउराली–सिस्नेरी सडकखण्डमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार हाल कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७.९३ मिटर पुगेको छ । वर्षा जारी रहेकाले केही घण्टामै जलसतह १ हजार ५२८ मिटर पार हुन सक्ने उनले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र आयोजनाबाट जारी हुने आधिकारिक सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएस सन्देशमा उल्लेखित निर्देशन पालना गर्न आग्रह गरेका छन् ।









