एक्सनले भरिपूर्ण १२ गाउँ २ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ प्रदर्शन हुन अब तीन दिन मात्र बाँकी छ । दसैंलाई लक्षित गर्दै यही शुक्रबार (३० असोज)बाट प्रदर्शन हुन लागेको फिल्मका टिजरदेखि गीतसम्मले दर्शकमाझ राम्रै चर्चा पाइरहँदा मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै चार मिनेट लामो ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

विराज भट्टको ‘भ्वाइस ओभर’बाट सुरु भएको ट्रेलरमा अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ । एउटा आपराधिक समूहलाई दुई पात्र (विराज र समीर भट्ट)ले कसरी तहसनहस बनाउँछन् भन्ने ट्रेलरमा देखाइएको छ । एक दृश्यमा उनीहरूलाई आमनेसामने समेत प्रस्तुत गरिएको छ । ट्रेलरमा एक्सनसँगै प्रेमकथाको पनि झलक देखिन्छ ।

विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा विराज र समीरसहित अनुप विक्रम शाही, कृशु शाही, खुशी कार्की, वर्षा इटानी, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा आरएल शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय छ । फिल्मकी निर्माता सरस्वती भट्ट हुन् ।

फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पार्श्व संगीत (बीजीएम) तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ । यो फिल्म २०८१ सालमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’को सिक्वेल हो ।

१२ गाउँ २

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation