सरकारी सेवा डिजिटलाइज र सुशासन कायम गर्न सांसद साहको आग्रह

काठमाडौँ। सांसद अरबिन्द साहले नीति, योजना र बजेट निर्माण गर्दा जनघनत्व एवम् मानव विकास सूचकाङ्क (HDI) लाई मुख्य आधार बनाउन सरकारसँग माग गरेका छन्।  प्रतिनिधिसभाको बैठकमा आफ्ना धारणा राख्दै सांसद साहले सदनमा पटक-पटक उठाइएका जनताका आधारभूत सवालहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्न पुनः आग्रह गरेका हुन्।
सदनलाई सम्बोधन गर्दै उनले शिक्षामा विद्यार्थी-शिक्षक र स्वास्थ्यमा बिरामी-चिकित्सक अनुपातका आधारमा जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। मधेशका युवाहरूलाई वैदेशिक रोजगारीमा कम ज्यालाको बाध्यताबाट मुक्त गर्न ‘ट्रेनिङ सेन्टर’ स्थापना गर्नुपर्ने, युवा स्वरोजगार, ‘पढ्दै-कमाउँदै’ कार्यक्रम र अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने उनको माग छ।
यसैगरी, किसानका लागि सिँचाइ, मल र भण्डारणको व्यवस्था, मिनही, मोही तथा भूमिहीन सुकुम्बासी समस्याको स्थायी समाधान र जग्गाको सरकारी मूल्याङ्कन पुनरावलोकन गरी करको भार घटाउन उनले ध्यानाकर्षण गराएर।
सरकारी सेवालाई पूर्ण रूपमा डिजिटलाइज गरी बिचौलियाको अन्त गर्नुपर्ने बताउँदै सांसद साहले भने, “यी सुधार सुविधा होइनन्, जनताको अधिकार र सुशासनका आधार हुन्।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation