काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित भएकी छन्। नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र ‘क’ बाट दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित चापागाईँले कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय सदस्य बनेर पिछडिएका वर्गका मुद्दालाई उत्थान गर्ने उनले बताएकी छन्। “नेपाली जनता, देश विकासको लागि केही काम गर्न पाउँछु भन्ने भित्रैदेखि इच्छा छ,” उनले भनिन्।
नेपाली कांग्रेसमा आबद्ध भएपछि पार्टीको समावेशी संरचना र विभिन्न समुदायका लागि छुट्याइएका समूहबारे आफूले बुझ्ने अवसर पाएको उनले बताइन्। खसआर्य, खुला, जनजाति, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न समूहको व्यवस्था भए पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि छुट्टै समूहको व्यवस्था नभएको उनको भनाइ छ।
सरकारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको नाममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समेटे पनि राजनीतिक दलहरूले आफ्नो संरचनामा यस समुदायका लागि स्पष्ट रूपमा छुट्टै समूहको व्यवस्था नगरेको उनले बताइन्।
“नेपाली कांग्रेस समावेशी लोकतान्त्रिक पार्टी पनि हो। यो पार्टीले जरुर छुट्टै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समूह छुट्याउनेछ। यही मुद्दा बोकेर केन्द्रीय सदस्यमा अगाडि बढ्ने तयारीमा छु,” उनले भनिन्।
उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकता, समावेशिता, स्वास्थ्य, रोजगारी र शिक्षासम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताइन्। उनका अनुसार नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू जीविकोपार्जनका दृष्टिले अझै पछाडि छन्।
“अरू पनि धेरै मुद्दा छन्। नागरिकताका मुद्दाहरू छन्। समावेशिता हरेक क्षेत्रमा हुनुपर्छ। स्वास्थ्य, रोजगारी, शिक्षा धेरै छन्। किनभने नेपालमा सबैभन्दा पछाडि पारिएको वर्ग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक हो। हामी प्रगतिशील छौँ। यद्यपि, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको जीविकोपार्जन हेर्यो भने हामी नेपालमा सबैभन्दा पछाडि पारिएको वर्गमा छौँ,” उनले भनिन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन आफूले पार्टीभित्रका विभिन्न व्यक्तिबाट सहयोग, साथ र माया पाएको उनले बताइन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभन्दा पहिले नै कांग्रेस पार्टीको नीति प्रतिष्ठानमा नियुक्त भइसकेको उल्लेख गर्दै उनले पार्टीमा प्राप्त सहयोगलाई निरन्तरता दिन चाहेको बताइन्।
“त्योभन्दा पहिला मलाई कांग्रेस पार्टीको नीति प्रतिष्ठानमा पनि नियुक्त गरिसकिएको छ। त्यो हिसाबले मैले धेरै साथ, सहयोग र माया पाएकी छु। यो भ्रातृत्व कांग्रेस पार्टीमा बरकरार रहिरहोस्। यही हिसाबले म अगाडि बढ्दै छु,” उनले भनिन्।
कांग्रेसले आफूलाई अवसर दिएमा देश विकास र सार्वजनिक नीतिका विषयमा अनुसन्धानमा आधारित योगदान गर्न चाहेको उनले बताइन्। जलवायु उत्थानशीलता, देशको आर्थिक विकास, कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका विषयमा काम गर्ने उनको योजना छ।
“अब पार्टीले मबाट पाउने भनेको देशमा विभिन्न मुद्दाहरू छन्, आइरहन्छन्। जलवायु उत्थानशीलताको कुरा गर्छौँ। हामीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि मात्र होइन, अरू पछाडि पारिएका वर्गका लागि पनि काम गर्नुपर्छ। देश विकासको कुरा भयो। जिडिपी कसरी बढाउने, शिक्षा, स्वास्थ्य र रोजगारी कसरी देशभरिका, दुर्गममा रहेका व्यक्तिहरूसम्म पुर्याउने भन्ने विषयमा काम गर्न चाहन्छु,” उनले भनिन्।
सुशासन र पारदर्शितामा आधारित शासन प्रणाली विकास गर्न तथा संसदमा ओझेलमा परेका विधेयक र मुद्दालाई उठाउन पनि आफूले योगदान गर्न चाहेको उनले बताइन्। यसका लागि अनुसन्धानमा आधारित कामलाई प्राथमिकता दिने उनको भनाइ छ।
“सुशासन र पारदर्शितामा आधारित रहेर कसरी राम्रो शासन व्यवस्था कायम गर्ने, संसदमा ओझेलमा परेका विधेयकहरू कसरी उठाउने भन्ने विषयमा अनुसन्धान गर्ने काममा म योगदान गर्न चाहन्छु,” उनले भनिन्।
चापागाईँले आफू पूर्णकालीन रूपमा कांग्रेसको राजनीतिमा लाग्न चाहेको पनि बताइन्। पार्टीबाट समावेशी सहयोग र काम गर्ने अवसर पाएमा आफ्नो सम्पूर्ण समय राजनीतिमा लगाउने उनको भनाइ छ।
“पार्टीको अलिकति समावेशी सहयोग भयो भने पूर्णकालीन रूपमा नै राजनीतिमा लाग्न चाहन्छु। मबाट आर्थिक अपेक्षा चाहिँ केही नहोस्,” उनले भनिन्।
राजनीतिमा लागेका व्यक्तिले आर्थिक लाभभन्दा पनि देश विकास र जनताको हितमा काम गर्ने अवसर पाउनुपर्ने उनको भनाइ छ। विगतमा आर्थिक अपेक्षा र त्यससँग जोडिएका परिस्थितिका कारण आफूहरूले धेरै समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले कांग्रेसले आफ्नो क्षमता देखाउने र सबैको हितमा काम गर्ने अवसर दिनुपर्ने बताइन्।
“देश विकासको क्रममा कांग्रेस पार्टीले एउटा मञ्च दिओस्। मेरो आफ्नै क्षमता देखाउन र सबैको हितका लागि काम गर्ने मौका दिओस्। हाम्रा सबै अग्रज नेताहरूको मार्गदर्शनमा काम गर्न पाऊँ। उहाँहरू सहज रूपमा भेट्न र आफ्ना कुरा राख्न सकिने हुनुहोस्। अनुसन्धान विभाग पनि मेरा लागि खुला गरियोस्। यसरी नै म अगाडि बढ्न चाहन्छु,” उनले भनिन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि चापागाईँले नेपाली कांग्रेस, केन्द्रीय सभापति गगनकुमार थापा, क्षेत्रीय तहका नेताहरू तथा आफूलाई साथ र सहयोग गर्ने साथीहरूलाई धन्यवाद दिएकी छन्। मायाको पहिचान नेपाल, सहकार्यमा रहेको एक्सनएड नेपाल, राजनीतिक समावेशिताको लागि सहयोग गर्ने युरोपेली सङ्घ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अग्रज तथा आफ्ना मार्गदर्शक सुनिलबाबु पन्तलाई उनले विशेष धन्यवाद दिएकी छन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित चापागाईँले अब केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीसँगै कांग्रेसको नीति निर्माण र नेतृत्व तहमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति र अन्य पछाडि पारिएका वर्गका मुद्दालाई स्थापित गर्ने लक्ष्य राखेकी छन्।









