प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सुरु भएको दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी हुनुभएको छ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार भारत प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत गएको छ।

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल–भारतबीच हुने उच्चस्तरीय बैठक तथा छलफलमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। उहाँले नेपाल सरकारको दोस्रो वरियताका प्रतिनिधिका रूपमा आर्थिक तथा लगानीसम्बन्धी विषयमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

यसैबीच, अर्थमन्त्री वाग्लेले आइतबार साँझ नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत निजी क्षेत्रबीचको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रममा नेपालमा लगानीका अवसर, सम्भावना तथा लगानीमैत्री वातावरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास, कनेक्टिभिटी तथा लगानी प्रवर्द्धनलगायतका विषयमा छलफल हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation