भदौ १९ गतेदेखि २१ गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं। नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि आयोजना हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ।

नेपालको विद्युत, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन्। प्रदर्शनीले उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, अत्याधुनिक स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स तथा घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा प्रणालीलगायत सामग्री प्रदर्शन गरिनेछ।

आयोजकका अनुसार नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवद्र्धन र विद्युतीय पूर्वाधार विकासमा समेत प्रदर्शनीले योगदान पुर्‍याउनेछ।

साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक तथा सम्बन्धित सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याएर प्रविधि, ज्ञान र अनुभव आदानप्रदानको अवसर प्रदान गरिनेछ।

नि:शुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा उद्योगी–व्यवसायी, सरकारी अधिकारी, आर्किटेक्ट, इन्जिनियर, इन्टेरियर डिजाइनर, प्राविधिक, विद्युत् व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारण गरी ३० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फम्र्स, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सहयोग गर्नेछन्।

आयोजकले प्रदर्शनीले ऊर्जा, विद्युत् तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवद्र्धन र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation