
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।
शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए ।
सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । यसबारे उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’
त्यसयता फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका हुन् ।
‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन् ।
उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताएका छन् ।
‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडियोमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’