
काठमाडौं । सिन्धुपाल्चोकको चौतारामा जारी प्रथम चौतारा साँगाचोकगढी नगरकप राष्ट्रिय खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिताको फाईनल खेल्ने दुई टोलीको टुंगो लागेको छ । आज भएको पहिलो सेमिफाईनल खेलबाट शसस्त्र प्रहरी बल एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब र दोस्रो सेमिफाईनल खेलबाट कोशी प्रदेश भलिबल क्लबलाई हराउँदै गण्डकी प्रदेश भलिबल क्लबले फाईनलमा स्थान पक्का गरेका हुन् ।
पहिलो सेमिफाईनल खेलमा पुलिसले एपीएफलाई ३-१ को सेटले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको थियो । पुलिसले पहिलो सेट २५-२० दोस्रो सेट २५-१६ र चौँथो सेट २५-१४ ले जित्दा एपिएफले तेस्रो सेट २५-२७ ले आफ्नो पक्षमा पारेको हो ।
त्यस्तै, निकै नै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाईनल खेल ५ औँ सेट सम्म पुगेको थियो । खेल निकैनै रोचक बन्दै गर्दा गण्डकीले कोशीलाई ३-२ को सेट अन्तरले पराजित गर्यो । गण्डकीले आफ्नो जितमा दोस्रो, तेस्रो र पाँचौ सेटमा बाजी मारेको थियो । पहिलो र चौँथो सेट कोशीले आफ्नो पक्षमा पारेपनि अन्तिम सेटमा बनाएको अग्रता कायम गर्न नसक्दा हार ब्यहोर्नु पर्यो ।
कोशीले पहिलो सेट २६-२४ तथा चौँथो सेट २५-१६ ले जितेको थियो । गण्डकीले दोस्रो सेट २५-२३ तेस्रो सेट २७-२५ र पाँचौ सेट १५-१० ले आफ्नो पक्षमा पार्दै पुलिस सँग भेट पक्का गरेको हो ।
फाईनलमा भोलि गण्डकीले पुलिससँग खेल्दा तेस्रो स्थानका लागि कोशी र एपीएफ खेल्ने छन् ।