कुन कुन राजमार्ग अवरुद्ध छन्?

काठमाडौँ- हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका–४ को बरुणमा गत साउन १७ गते दिउँसो ४ बजे पहिरो गएपछि यो राजमार्ग ठप्प भएको हो। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटोमार्फत एकतर्फी सवारी साधन सुचारु गरिएको छ।

सिन्धुपाल्चोकको भोटेशोकी गाउँपालिका–२ कोदारी स्थित इकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। साउन १६ गते साँझ ६:३० बजे गएको पहिरोले सडक अवरुद्ध भएपछि चीनसँगको नाका जोड्ने यो सडक खण्डमा सवारी आवागमन बन्द भएको छ।

म्याग्दीमा पनि पहिरोले सडक प्रभावित पारेको छ। अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा साउन १६ गते साँझ पहिरो जाँदा बेनी९जोमसोम सडकखण्ड प्रभावित भएको छ। हाल उक्त स्थानमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी साधन सुचारु गरिएको छ।

सडक विभाग र सुरक्षा निकायहरूले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाका ट्राफिक प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation