काठमाडौं । जङ्गलको अँध्यारो बाटो, हातमा लालटिन र रहस्यमय यात्रामा निस्किएका एक युवक। यात्राकै क्रममा भेटिन्छिन् अभिनेत्री निरुता सिंह, जसलाई ती युवकले सम्बोधन गर्छन्—‘आमा’! आखिर गिरि विश्वकर्मा र निरुता सिंहबीचको सम्बन्ध के हो? यही कौतूहललाई केन्द्रमा राख्दै चलचित्र ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ।
वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्रको १ मिनेट ७ सेकेन्ड लामो टिजर निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर पारेर सोमबार, कात्तिक २ गते सार्वजनिक गरिएको हो।
टिजरमा डेब्यु अभिनेता गिरि विश्वकर्मा काउब्वाय ह्याट लगाएर हातमा लालटिन बोकी जङ्गलको अँध्यारो बाटोमा हिँडिरहेको देखिन्छन्। उनको यात्रामा देखिने अपरिचित आकृति, अचानक भाग्ने घोडा र त्यसको पछि लाग्दै अघि बढ्ने क्रममा देखिने रहस्यमय दृश्यले चलचित्रको कथाप्रति चासो जगाउँछन्।
टिजरको अन्त्यतिर निरुता सिंहको उपस्थिति र गिरिले उनलाई ‘आमा’ भनेर सम्बोधन गरेको दृश्यले दर्शकमाझ थप जिज्ञासा पैदा गरेको छ। निरुता वास्तवमै गिरिकी आमा हुन् वा उनीहरूको सम्बन्धमा कुनै रहस्य लुकेको छ? चलचित्रले मातृत्व, विछोड र पारिवारिक सम्बन्धको कस्तो कथा प्रस्तुत गर्छ? यी प्रश्नको जवाफ भने टिजरले दिएको छैन।
कुमार गजुरेलको निर्देशनमा बनेको ‘सारथी’मा लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एउटै पर्दामा देख्न पाइनेछ। अनुप बरालको एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएका गिरि विश्वकर्मा रङ्गमञ्चको अनुभवपछि ठूलो पर्दामा डेब्यु गर्दैछन्।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन्।
संकल्प भुजेलको छायांकन रहेको चलचित्रमा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर सुन्न सकिन्छ।
श्याम कार्की कला निर्देशक र गोविन्द खड्का ड्रेस कोअर्डिनेटर रहेको चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ। ‘सारथी’ आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।
टिजर लिंक : https://youtu.be/tkKEr-oQwKs









