
काठमाण्डौ । चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा आएको छ । चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’ पात्रबाट चर्चामा आएका माग्ने बुढा अर्थात् केदार घिमिरेका छोरा आशिष घिमिरेले यस चलचित्रमार्फत डेब्यु गर्नु भएको छ ।
सशान कँडेलले निर्देशन गरेको चलचित्रमा कँडेल आफैले चलचित्रको कथा तयार गर्नु भएको हो भने पटकथा माधव शर्माले लेख्नु भएको हो । सशानले यसअघि ‘होस्टल’ सिरिजका पहिलो र दोस्रो संस्करण निर्देशन गर्नु भएको थियो।
चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त र हेना नगरकोटी मुख्य भूमिका रहेको छ । सामाजिक सञ्जालमा ‘कुल ब्वाय’ भनेर चिनिने पारस बम र वेब सिरिज ‘खेल’ तथा ‘साहु बा’बाट चर्चामा आएकी हेना नगरकोटीको अभिनय विशेष आकर्षण हो ।
चलचित्रले कलेज जीवनका उतारचढाव, मित्रताको सम्बन्ध र युवापुस्ताका भावनालाई चित्रण गरेको छ । युवा दर्शकलाई लक्षित गरिएको चलचित्रमा प्रेम, द्वन्द्व र मित्रताको कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।