नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो

नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो

काठमाण्डौ । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको हो ।

यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत हो । फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋणका आधारमा हरेक नेपालीको भागमा झण्डै ९१ हजार रुपैयाँ बराबर पर्न आउँछ  ।

गएको असारमा प्रति नेपाली ऋण झण्डै ८३ हजार रुपैयाँ थियो । गएको असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ (जीडीपीको २३ दशमलव ०६ प्रतिशत) र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ (जीडीपीको २३ दशमलव ८५ प्रतिशत) रहेको छ ।

पछिल्लो ८ महिना साउनदेखि फागुनसम्ममा मात्रै २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको हो । यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।

यसअनुसार फागुनसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण उठाएको छ । यो अवधिमा एक खर्ब ३४ अर्ब ४७ करोड बराबर तथा बाह्यतर्फ २४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणको सावाँ तिरेको कार्यालयले जनाएको छ ।

अहिलेसम्म विदेशी विनिमयदरमा भएको परिवर्तनका कारण मात्रै ६६ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण बढेको कार्यालयले जनाएको छ ।

सार्वजनिक ऋण

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार