
सैनामैना । रुपन्देहीको सैनामैनामा सञ्चालन भएको दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा उपाधि दावेदार त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो ।
पुलिसले आर्मीलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेट २५-१७, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ ले पुलिसले जितेको थियो ।
जितसँगै पुलिसले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेतामा चित्त बुझाएको आर्मीले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम पनि आजै सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा सफल वि.क. बेष्ट प्लेयर, धन बहादुर भट्ट स्पाईकर, धनपति कुँवर ब्लकर, बलराम गुरुङ्ग सटर, इश्वर थापा लिब्रो, हिमाल सुनारी सर्भर र चन्द्र कुँवर बेष्ट कोच हुन सफल भएका छन् । बेष्ट प्लेयर भएका वि.क.ले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्दा अन्य विधाका उत्कृष्ट खेलाडी तथा कोचले जनही ७ हजार ७ सय ७७ रुपैँया पाएका छन् ।
हिजो भएको खेलमा तृतिय स्थान हासिल गरेको गण्डकीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सान्त्वना टोली मणिमुकुन्द भलिबल क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।