भैरहवा ।
सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीले विभिन्न विधामा स्रष्टाहरुलाई सम्मान गरेको छ । समाजको २१ औं वार्षिकोत्सब तथा ८४ औं शहीद दिवस २०८१ को उपलक्ष्यमा भैरहवामा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानीत गरेको हो ।
कार्यक्रममा सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कार २०८१ बाट वरिष्ठ कवि तथा समालोचक ऋषिराम भूषाल, सिर्जनशील स्रष्टा सम्मान २०८१ बाट संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार कमल पोख्रेल ’निश्छल’, सिर्जनशील गङ्गा साहित्यिक पुरस्कार २०८१ बाट पाल्पाकी साहित्यकार तथा सञ्चारकर्मी मन गहिरे, सिर्जनशील छविलाल साहित्यिक पुरस्कार २०८१ बाट बुटवलका स्रष्टा यज्ञलाल सुवेदी, सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कार २०८१ बाट भैरहवाका स्रष्टा हृदय लेकाली तथा सिर्जनशील काशी प्रतिभा पुरस्कार २०८१ बाट नव दुर्गा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र समीर बानियाँलाई सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष विष्णुप्रसाद गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा परिषद्का आजीवन सदस्य प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यता, संस्थाका विशिष्ट सदस्य आख्यानकार वनमाली निराकारको विशिष्ट आतिथ्यता तथा संस्थाका सल्लाहकार तथा शहीद स्मृति पुस्तकालयका अध्यक्ष रूद्र ज्ञवाली, साहित्यकार विजय सागर, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा. श्याम प्रसाद न्यौपाने, संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार सुरज घिमिरे ’दीपशिखा’, पूर्व अध्यक्ष एवम् सल्लाहकार शशि पन्थी, पूर्व अध्यक्षहरू छवि ज्ञवाली, छविलाल न्यौपाने, तेजप्रसाद पन्थ, सुवास रिजाल ’यात्री ’ लगायतको आतिथ्यता रहेको थियो ।
८० भन्दा बढी साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा कमला भण्डारी ढकाल, सागर के.सी., खगेन्द्र बस्याल, विशाल गुप्ता आदिले रचना वाचन गरेका थिए । संस्थाका कोषाध्यक्ष सिर्जना खनालको स्वागत मन्तव्य तथा सचिव रामराज गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।