१५ माघ, भैरहवा ।
पर्यटन उद्योग सम्बद्ध संस्था नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्लानिङ्ग वर्कसप तथा फेलोसीप कार्यक्रम पर्यटकीय गन्तव्यस्थल मणिमुकुन्द सेन उद्यान, बुटवलमा सम्पन्न भएको छ। (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको सो वर्कसपबाट वर्षभरि गरिने पर्यटकीय कार्यक्रमहरुको सूची निर्धारण गरेको छ। लुम्बिनी प्रदेश पर्यटन परिषदका सदस्य माधव नेपालको प्रमुख आतिथ्यता, पूर्व अध्यक्षद्वय सागर अधिकारी, रचना पन्त समेतको उपस्थितिमा भएको वर्कसप तथा फेलोसीप कार्यक्रमबाट करिब ५० जना ट्राभल व्यवसायीहरुको सक्रिय सहभागितामा विभिन्न विषयगत समितिहरु पनि गठन गरिएको छ।
उक्त वर्कसपबाट राष्ट्रिय गौरवको आयोजना जस्तो महत्वपूर्ण आयोजना भएर पनि संचालनमा अन्यौलता भैरहेको रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) को दिगो व्यावसायिक संचालनको लागि गर्नुपर्ने कार्यलाई प्रमुख कार्यदिशा तय गरेको छ। यसको लागि बिदेश प्रस्थान र नेपाल आगमनको प्रमुख प्रवेश विन्दू GBIA लाई नै बनाउन संस्थागत रुपमा जागरुकता कार्यक्रम संचालन गर्ने, सरकारसँग पहल गरी Buddhist Country FAM Trip and Business Promotion Programme आयोजना गर्ने, लुम्बिनीमा International Travel Mart को लागि पहल गर्ने, भारतीय पर्यटन व्यवसायी र मिडियाहरुलाई आमन्त्रण गरी लुम्बिनी प्रदेशका संभावित पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्ने, अन्तर प्रदेश हवाई तथा सडक कनेक्टिभिटी राउण्ड टेबल अन्तरक्रिया कार्यक्रम, पर्यटनसँग पत्रकार कार्यक्रम संचालन गर्ने, मेम्बरसीप वृद्धिलाई अभियानका रुपमा संचालन गर्ने लगायतको निर्णय गरेको छ ।
साथै, डण्डा चलाएरै मात्र विदेशी एयरलाइन्सलाई राजधानी बाहिर जान उद्देलित गर्ने वर्तमान अभ्यास पर्यटनका लागि अफाप हुन सक्ने हुदा विद्यमान राष्ट्रिय हवाई नीतिमा परिमार्जन गरी दिन प्रतिदिन साँघुरो बन्दै गई रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक समस्या सम्बोधन गर्न र भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरुको दिगो व्यावसायिक संचालन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।