काठमाण्डाै । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबसँगको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो पारीमा ३७ रनको अग्रता लिएको छ । खेलको दोस्रो दिन आर्मी खाना समयपछि १ सय ७० रनमा अलआउट भयो ।
आर्मीका भीम सार्कीले ५८, बसिर अहमदले ४०, सोमपाल कामीले ३२ रन बनाए । पुलिसका सागर ढकालले ५, कुशल भुर्तेलले ३ विकेट लिए । अहिले पुलिसले दोस्रो पारीको ब्याटिङ गरिरहेको छ । पुलिसले पहिलो पारीमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो ।
प्रतियोगितामा आर्मी, पुलिससहित बाग्मती र मधेश प्रदेश गरी चार वटा टोली सहभागी थिए । पुलिस शीर्ष स्थानमा र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । प्रतियोगितामा चार वटा टोलीले ३/३ खेल खेलेका थिए ।
पुलिसले ३ मध्ये २ मा जीत हात पारेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो । आर्मी ३ खेलमा एउटामा विजयी हुँदा २ वटा खेल बराबरीमा टुङ्गिएको थियो । बाग्मती र मधेश प्रदेशले एउटा खेल पनि जित्न सकेनन् ।