सनातन गौ संरक्षण अभियान युएई द्वारा गौरीशङ्कर गुरुकुल र कामधेनु गौ संरक्षण केन्द्रमा सहयोग

सनातन गौ संरक्षण अभियान युएई द्वारा गौरीशङ्कर गुरुकुल र कामधेनु गौ संरक्षण केन्द्रमा सहयोग

काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित गौरीशङ्कर गुरुकुलका वेद–अध्ययनरत बालवटुकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। सनातन गौ संरक्षण अभियान युएईले शुभ दिपावलीका अवसरमा युएईमा आयोजित सामूहिक लक्ष्मी पूजा, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रममार्फत संकलित रकमलाई दोस्रो चरणको राहत तथा गुरुकुल सेवा कार्यमा उपयोग गर्दै गुरुकुलमा अध्ययनरत बालवटुकहरूलाई न्यानो पोशाक प्रदान गरेको हो।

गुरुकुलमा अध्ययनरत बालवटुकहरू घर–परिवारबाट टाढा बसेर पारम्परिक वेद–विद्यामा संलग्न छन्। चिसो प्रदेश मानिने सोलुखुम्बुमा उनीहरूको स्वास्थ्य र दैनिक आवश्यकतालाई दृष्टिगत गर्दै अभियानले न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा गुरुकुल व्यवस्थापन पक्षले युएईबाट हुने निरन्तर सहयोगले गुरुकुलको संरचना, व्यवस्थापन तथा बालवटुकहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण प्रभाव पारेको बताएको छ।

सनातन गौ संरक्षण अभियान युएईका प्रतिनिधिहरूका अनुसार, “धर्म नभुलौँ, संस्कार नभुलौँ, जुनसुकै देशमा भए पनि नेपाल नभुलौँ” भन्ने मूल ध्येयका साथ सुरु गरिएको अभियानले विगत केही वर्षयता नेपालका विभिन्न गुरुकुल, गौशाला तथा धार्मिक संस्थाहरूमा ठोस योगदान पुर्‍याउँदै आएको छ। दिपावलीको अवसरमा युएईमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम, देउसी–भैलो तथा भजन–कीर्तनबाट उठेको रकम यस पटक गुरुकुल सेवामा प्रयोग गरिएको हो।

युएईमा कार्यरत नेपाली दाजुभाइ–दिदीबहिनीहरूले आर्थिक, नैतिक, भौतिक तथा मानसिक रूपमा अभियानमा सहयोग गरेको भन्दै अभियानले सबै सहयोगीप्रति धन्यवाद व्यक्त गरेको छ। “युएई जस्तो परदेशी भूमिबाट पनि धर्म, संस्कृति, गौ–सेवा र गुरुकुल उत्थानका लागि देखाइएका सद्भाव र समर्पण प्रशंसनीय छ,” अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा गुरुकुल प्रबन्ध समितिले बालवटुकहरूको अध्ययन, आवास, भोजन र स्वास्थ्यसम्बन्धी व्यवस्थामा सहयोग पुर्‍याएको भन्दै अभियानप्रति आभार व्यक्त गरेको थियो। साथै, स्थानीय अभिभावक, पुरोहित र समुदायले पनि यस्ता सहयोगले बालवटुकहरूको मनोबल बढाउने र गुरुकुल शिक्षाको निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

अभियानका पदाधिकारीहरूले आगामी दिनमा पनि नेपालका दुर्गम क्षेत्रहरूमा रहेका गौशाला तथा गुरुकुलहरूलाई आवश्यक सामग्री, न्यानो कपडा, खाद्यान्न तथा औषधि वितरणजस्ता सेवाका कार्यक्रम निरन्तर रूपमा अघि बढाइने जानकारी दिएका छन्। “समुदायको साथ, सहयोग र आस्थाले नै यस अभियानलाई अझ सुदृढ बनाएको छ। भविष्यमा अझ धेरै गुरुकुल तथा गौ–सेवा केन्द्रहरूमा पुग्ने हाम्रो लक्ष्य छ,” उनीहरूले बताए।

यसै अवसरमा अभियानले परदेशमा रहँदा पनि आ–आफ्नो मौलिक संस्कृति, धर्म र परम्परालाई जोगाइराख्न सबै नेपालीहरूलाई आग्रह गरेको छ। अभियानका अनुसार, यस्ता सेवामूलक कार्यक्रमहरू केवल कपडा वितरणमा सीमित नभई सामाजिक र सांस्कृतिक एकताको माध्यम पनि बनेका छन्।

सनातन गौ संरक्षण अभियान युएई परिवारले कार्यक्रम सफल बनाउन साथ दिने सबै सहयोगीहरू, स्वयंसेवक, संयोजक तथा उत्साही सहभागीहरूलाई हृदयपूर्वक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा–कार्य निरन्तर गरिने जनाएको छ।

साथै, अभियानले “कैलाली जिल्लाको लम्किचुहा नगरपालिकास्थित कामधेनु गौ संरक्षण केन्द्रमा सामाजिक तथा धार्मिक व्यक्तित्व श्री मिनराज ढुंगाना ज्युको सहजीकरणमा लम्किचुहा नगरपालीका वडा नम्बर ३ का अध्यक्ष श्री लव बहादुर शाही र धार्मिक अभियन्ता श्री टंक बहादुर देउवाको उपस्थितिमा गौ चाहारा र केही आवश्यक औषधिहरु वितरण गरिएको सनातन गौ संरक्षण अभियान युएईका अध्यक्ष सागर दाहालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार